धनकुटा। कोरोनाले अस्त–व्यस्त बनिरहेको धनकुटा बजारमा शनिबार अपरान्ह फरकखालको दृश्य देखियो । कोरोना भगाउने भन्दै स्थानीय एक धमिनी महिलाले आफ्ना २ जना सहयोगीसँगै एक्कासि ढ्याङ्ग्रो ठोक्दै बजार परिक्रमा गरिन् ।
उक्त दृश्य देख्नेहरू अचम्मित मात्रै बनेनन्, सबैको ध्यान उनीतर्फ खिचियो । शरीरभरि रुद्राक्षका माला, घण्टी र मुखमा मास्क लगाएर नाचेकाले को हुन् ? भनेर कसै–कसैले त अनुमान पनि गर्न सकेनन् । धनकुटा–६ पाङ्सुङस्थित सुकुम्बासी बस्तीकी झुसिली विश्वकर्माले कोरोना भगाउने भन्दै ढ्याङ्ग्रो ठोकेकी हुन् ।
कोरोना भगाउने बाहिर उद्देश्य देखिए पनि भित्री उद्देश्य भने सहयोगको नाममा पैसा सङ्कलन गर्ने रहेको बजारवासी बताउँछन् । कोरोनाका कारण लामो समयदेखि बन्दाबन्दी भएका कारण दैनिकी टार्न समस्या भएपछि बालबच्चासहित ढ्याङ्ग्रो लिएर बजार निस्किएको धमिनी झुसिली विश्वकर्माले बताइन् । ढ्याङ्ग्रो बजाउँदै सहयोग मागेका कारण बजारवासीले पनि सक्दो नगद तथा जिन्सी सहयोग गरे ।
ढ्याङ्ग्रो बजाएर बजारमा मागेको दृश्य आफूले पहिलोपटक अनुभूत गरेको धनकुटा–७ मदनचोकस्थित कञ्चनजङ्घा होटलका सञ्चालक गोरखबहादुर कट्वालले बताए । ‘सहयोगको नाममा ट्याम्पो रिजर्भ गरेर टाढा–टाढादेखि विभिन्न दीर्घरोगको उपचार गर्ने भन्दै माइकिङ गरेर सहयोग उठाउने गरेको दृश्य त देखिएको थियो, तर ढ्याङ्ग्रो ठोकेर सहयोग मागेको त पहिलोपटक देखेँ’–कट्वालले भने ।
ढ्याङ्ग्रो बजाई सहयोग मागेपछि आफूहरूले स्वेच्छाले सहयोग गरेको स्थानीय व्यापारी आठराई पुस्तक पसलका सञ्चालक तुलसी बाह्रकोटीले बताए । उनलाई नजिकबाट चिन्नेहरूले धमिनीकै रूपमा चिन्दै आएका छन् ।