भद्रपुर। झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको सय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका फोकल पर्सन ओम खड्कामाथि कारबाही गर्न चौतर्फी माग भएको छ ।

मानव अधिकार सञ्जाल झापाले एक प्रेस विज्ञप्ति जारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित रुपले होटलमा लुकाइ राखेको अबस्थामा खोप बरामद हुनुले लज्जास्पद र निन्दनीय भएको जनाएको छ ।

महासचिव डा. रुपकप्रसाद खनालले जारी गरेको विज्ञप्तिमा जनताको स्वास्थ्य सम्बन्धी अधिकारमाथि खेलवाड गर्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गरी आगामी दिनमा खोपलाई दुरुपयोग हुन नदिई सहज बनाउन बिर्तामोड नगरपालिका , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग माग गरिएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले कारबाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न बिर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ । साथै यस्ता घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र विभिन्न बहानाबाजीमा ओठे जवाफले आफ्ना आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको बिपक्षमा जनदबाब सृजना गर्न अपिल गरिएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले पनि कारबाहीको माग गरेको छ । नगर अध्यक्ष रन्जु प्याकुरेलले एक विज्ञप्ति जारी गरी जनस्वास्थ्यसँग जोडिएको संबेदनशील बिषयमा जिम्मेवार निकायका व्यक्ति नै संलग्न रहनुले जनआक्रोश चुलिएको अवस्थामा सत्य तथ्य छानबिन गरी जनतालाई सुसूचित गर्न र त्यस्ता कर्मचारीलाई अबिलम्ब कारबाही गर्न स्थानीय सरकारसमक्ष माग गरेकी छन् ।

शुक्रबार दिउँसो होटलबाट खोपसहित खडकालाइ माओवादी केन्द्रका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका खड्का राति नै छुटेका छन् । बिर्तामोड प्रहरीले बरामद खोपसहित पक्राउ परेका खड्कालाई स्वास्थ्य कार्यालयको जिम्मा दिएको इलाका प्रहरी कार्यालय विर्ताएमोडका डिएसपी सन्तोष आचार्यले बताए । स्वास्थ्य कार्यालयले राति नै छोडिदिएको बिर्तामोड स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले जानकारी दिए ।

सोही विषयलाइ लिएर कोभिड पर्सन खड्कामाथि कारबाहीको माग गर्दै बिर्तामोड नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । शनिबार (आज) बिहान स्थानीय सरोकारवाला, नेपाल विद्यार्थी सङ्घ जिल्ला समिति र अखिल क्रान्तिकारी झापाले संयुक्तरुपमा तालाबन्दी गरेका हुन् ।

कोरोनाविरुद्धको खोपमा कालोबजारी गर्ने बिर्तामोड नगरपालिकाका कोभिड पर्सन खड्कामाथि कारवाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । जबसम्म कालोबजारीमा संलग्न खड्कासहितका कर्मचारीको पहिचान गरेर कारबाही हँुदैन तबसम्मको लागि बिर्तामोड नगरपालिकाको कार्यालयमा लगाईएको ताला नखोलिने नेपाल विद्यार्थी सङ्घ झापाका सचिव पोषराज कट्वालले जानकारी दिएका छन् ।

यसैगरी अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले सङ्घर्षको कार्यक्रम निरन्तर रुपमा अगाडी बढाउने भन्दै यहाँ भएका सबैखाले विकृति अन्त्यको लागि आफूहरु लागेको बताए । बिर्तामोड नगरपालिकाका कोभिड पर्सन खड्कालाई कोरोनाविरुद्धको भेरोसिल खोपसहित बिर्तामोडको टाइमलेस  होटलबाट प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।