बङ्गलादेशमा हरेक दिन कोरोना सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको देखिएको छ ।

बङ्गलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमितहरु भेटिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले बङ्गलादेशमा २४ घन्टाको बीचमा यतिधेरै सङ्क्रमितहरु भेटिएको यो दोस्रोपटक हो भनेको छ ।

यसअघि जुलाई २८ मा एकै दिन १६ हजार जना सङ्क्रमित भेटिएका थिए । त्यस दिन २५८ जनाको यही सङ्क्रमणबाट ज्यान पनि गएको थियो ।  

त्यसैगरी बिहीबार मात्र २३९ जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान पनि गएको छ । 

योसमेत गरी २० हजार २५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा १२ लाख २६ हजार २५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अधिकारीहरुका अनुसार कोभिडका कारण मृत्यु हुने दर १.६५ प्रतिशत रहेको छ । त्यसैगरीे निको हुने दर ८५.६ प्रतिशत रहेको छ । 

सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि देशव्यापी रुपमा लकडाउनको व्यवस्था गरेको छ । कोरोना भाइरस नघटेपछि लकडाउन कायम गरिएको हो । तर पनि पछिल्लो महिना यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना भाइरसको सङ्क्रमण भने घटेको छैन ।