विराटनगर/आफ्ना समर्थक र कार्यकताहरूलाई मध्यरातमा बोलाएर सुटुक्क खोप दिएपछि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली विवादमा मुछिएका छन् ।

प्रमुख पराजुलीले बुधबार राति ९ बजे विराटनगर–५ काङ्ग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा बोलाएर आफ्ना समर्थक र कार्यकर्तालाई मात्र भेरोसेल खोप वितरण गरेपछि विवादमा मुछिएका हुन् ।

रातको समयमा आफूनिकटकालाई खोप लगाउन थालेको भनेर आफ्नै पार्टीका कार्यकर्ताले प्रमुख पराजुलीमाथि आरोप लगाएका छन् । आफूनिकटकालाई खोप लगाउन थालेको भन्दै प्रमुख पराजुलीलाई स्थानीयले लखेटेको विराटनगर–५ मुनालपथका प्रभाकरमान सिंह कार्कीले जानकारी दिए । काङ्ग्रेस बुथ सभापति राजभण्डारीका घरमा भेरोसेल खोप वितरण गरिरहेका थिए । टोलका करिब ६० जना समर्थक बोलाएर सुटुक्क खोप दिएको थाहा पाएपछि स्थानीय युवाले प्रमुख पराजुली र उनको समूहलाई लखेटेका हुन् ।

पराजुलीका साथ नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने र उपाध्यक्ष प्रवीण जोशीसमेत थिए । राजभण्डारीका घरमा खोप दिइरहेको चाल पाएपछि वरपरका युवा र महिला त्यहाँ जम्मा भएर हो–हल्ला गर्न थाले । यसपछि प्रमुख पराजुली भन्सार एजेण्टसमेत रहेका जोशीको सवारी चढेर भागेको स्थानीयको भनाइ छ । ‘बुथ सभापति राजभण्डारीको घरमा बुधबार राति भीडभाड थियो’ प्रत्यक्षदर्शी कार्कीले भने, ‘सुतिसकेको मान्छे म निस्किएँ, बाहिर आएर हो–हल्ला गर्दै राजभण्डारीको घरमा पुगेको थिएँ । त्यहाँ मलाई भित्र प्रवेश गर्न नदिई बाहिर निकालियो । त्यसपछि खोप लगाउने कार्य बन्द भयो र मेयर सा’वको समूह भाग्यो ।’

खोपको विषयमा विवाद भई स्थानीयवासीले हो–हल्ला गरेपछि जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय ‘क’ बाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएको थियो । सो क्षेत्रमा वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपक कार्कीको नेतृत्वमा खटिएको टोली पुगेको थियो । घटनास्थलमा पुगेका डिएसपी कार्की नेतृत्वको प्रहरी टोलीले काङ्ग्रेस वडाका बुथ सभापति राजभण्डारीको घरबाहिर खोप लगाएको सिरिञ्जको खोल बरामद गरेको थियो ।

मुनालपथ नजिकै घर भएका नेपाली काङ्ग्रेसका युवा नेता दीपक चापागाईंले घटनाको पुष्टि गरे । उनले मेयरले खोपको दुरुपयोग गरी लज्जास्पद काम गरेको बताउँदै व्यक्तिको घरमा खोप लगाउने कार्यक्रम सरासर गलत भएको बताए । ‘धेरै लफडा भयो’ चापागाईंले भने, ‘मेयर सा’वले आफ्ना मान्छे बोलाएर खोप लगाउँदै हुनुहुन्थ्यो । हो–हल्ला भएपछि भाग्नुभयो । हानाहान पनि भयो । अलिअलि ढुङ्गा हानाहान पनि भयो । तर, अप्रिय घटना केही भएन ।’

उनले घटनाको छानबिन गरी संलग्नलाई कारबाहीको माग गरेका छन् । ‘मेयरले गरेको यो अनैतिक र अमर्यादित काम हो’ चापागाईंले भने, ‘उहाँले नेपाली काङ्ग्रेसलाई नै बदनाम गर्ने काम गर्नुभएको छ । यो निन्दनीय छ ।’  मेयरलाई कारबाहीको माग गर्ने चापागाईं नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनमा विराटनगर महानगरपालिकाको नगर सभापति पदको उम्मेदवारीको तयारीमा छन् ।

यता मेयर पराजुलीले भने आफू घटनास्थलमा नगएको र कसैलाई खोप नदिएको दाबी गरेका छन् । काङ्ग्रेसको चुनाव नजिक आएकोले आफ्नो बदनाम गर्न खोपको फण्डा बनाएर गलत प्रचार गरिएको उनको भनाइ छ । नगर सभापतिको दौडमा रहेका चांैलागाईंलाई आफूले समर्थन नगरेकाले उनले आफूमाथि यस्तो आरोप लगाएको मेयर पराजुलीको भनाइ छ । उनले महानगरले खोप सबै वडामा लगाइरहेकाले लुकेर राति कसैको घरमा खोप लगाउनुपर्ने अवस्था नरहेको बताए ।

hohola-gardai

andolan


खोप माग्दै मेयरविरुद्ध नाराबाजी
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बुधबार मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर कोरोनाविरुद्धको खोप लगाइदिएको विरोधमा बिहीबार महानगरपालिकाअगाडि प्रदर्शन भएको छ ।

कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै सर्वसाधारणले महानगरपालिका सामुन्ने प्रदर्शन गरेका हुन् ।

उनीहरूले मेयर पराजुलीको विभेदपूर्ण कार्यप्रति असन्तुष्टि जनाउँदै नैतिकताको आधारमा राजीनामाको मागसमेत गरेका छन् । विराटनगरका मेयर भीम पराजुलीको अगुवाइमा बुधबार मध्यरातमा आफ्ना समर्थक र पार्टीनिकट कार्यकर्ताहरूलाई खोप लगाउने तयारी थियो । खोपका लागि काङ्गे्रसका पनि निकट कार्यकर्ताहरूलाई मात्र खबर गरिएको थियो ।

कोरोनाविरुद्धको खोप बोकेर प्रमुख पराजुली स्वयम् राति करिब ९ बजे विराटनगर–५ स्थित काङ्ग्रेस बुथ समितिका सभापति विमल राज भण्डारीको घर पुगेका थिए । तर, करिब २० जनाले खोप लगाइसकेपछि पार्टीनिकटलाई मात्र खोप दिएको सूचना बाहिरियो ।

सूचना बाहिरिएसँगै ठूलो सङ्ख्यामा जम्मा भएको स्थानीयको भीडले सो कार्यक्रम बिथोलियो । खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका मेयर पराजुलीसमेत स्थानीयबाट लखेटिए । स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै काङ्ग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयको भनाइ छ । भन्सार एजेण्ट रहेका जोशीको गाडीमा स्थानीयले ढुङ्गा प्रहारसमेत गरेका थिए ।

प्रमुख पराजुलीको उक्त हर्कतपछि बुधबार रातिदेखि नै आक्रोशित बनेका स्थानीयले बिहीबार विरोध प्रदर्शन गरेका छन् । पराजुलीले आफ्नो पदीय मर्यादाको दुरुपयोग गरेको उनीहरूको ठहर छ ।