नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पार्टीले जारी गरेको क्रियाशील सदस्यमा विवाद भइरहेको बेला सुन्दरहरैंचाका २ जना क्रियाशील सदस्य नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । 

उनीहरुलाई प्रदेश १ का उद्योग, वन, तथा पर्यटन राज्यमन्त्री राजकुमार ओझाले पार्टीमा स्वागत गरे । सुन्दरहरैंचा–९ का चन्द्रप्रसाद ढकाल र निलबहादुर कार्की एमालेमा प्रवेश गरेका हुन् । 

१० महिनाअघि उनीहरु एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसमा प्रवेश गर्नेबित्तिकै क्रियाशील सदस्यताको लागि सिफारिस गरिएको भनेर कांग्रेसमा असन्तुष्टी थियो । उनीहरु कांग्रेस बनाउन आएका नभई कांग्रेसको अमूक व्यक्ति बनाउन आएको टिप्पणी हुन थालेको थियो । 

सुन्दरहरैंचा नगरपालिकाको वडा न ८, ९, ११, १२ मा पार्टीको वडा समितिले सिफारिस गरेबाहेकका व्यक्तिलाई क्रियाशील सदस्यका लागि प्रस्ताव गरिएको कांग्रेसका कार्यकर्ता बताउँछन् । 

आसन्न नगर अधिवेशनमा केही सीमित नेताहरुबाट सञ्चालित समूहबाट पार्टी संगठनमा योगदान नै  नगरेका केही नेताका आडमा रहेर उम्मेदवारी घोषणा भएको भन्दै पार्टीमा लामो समयदेखि काम गरेका कार्यकर्तामा पनि असन्तुष्टि देखिन्छ ।