आफ्ना समर्थक र कार्यकतालाई मध्यरातमा बोलाएर सुटुक्क खोप दिएपछि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली विवादमा मुछिएका छन् । 

प्रमुख पराजुलीले बुधबार राति ९ बजे विराटनगर ५ कांग्रेस बुथ सभापति विमल राजभण्डारीका घरमा बोलाएर आफ्ना समर्थन र कार्यकतालाई मात्र भेरोसिल खोप वितरण गरेपछि विवादमा मुछिएका हुन् । 

रातको समयमा आफ्ना निकटलाई खोप लगाउन थालेको भनेर आफ्नै पार्टीका कार्यकर्ताबाट प्रमुख पराजुलीमाथि आरोप लगाएको छ । आफ्ना निकटलाई खोप लगाउन थालेको भन्दै प्रमुख पराजुलीलाई स्थानीयले लखेटेको विराटनगर–५ मुनालपथका प्रभाकरमान सिंह कार्कीले जानकारी दिए । 

कांग्रेस बुथ सभापति राजभण्डारीका घरमा भेरोसिल खोप वितरण गरिरहेका थिए । टोलका करिब ६० जना समर्थक बोलाएर सुटुक्क खोप दिएको थाहा पाएपछि स्थानीय युवाले प्रमुख पराजुली र उनको समूहलाई लखेटेका हुन् । पराजुलीका साथ नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने र उपाध्यक्ष प्रवीण जोशी समेत थिए । राजभण्डारीका घरमा खोप भइरहेको चाल पाएपछि वरपरका युवा र महिला त्यहाँ जम्मा भएर होहल्ला गर्न थाले । यसपछि प्रमुख पराजुली भन्सार एजेन्ट समेत रहेका जोशीको सवारी चढेर भागेको स्थानीयको भनाइ छ । 

समाचार आजको ब्लाष्ट दैनिकको अग्रपृष्ठमा प्रकाशित भएको छ । 

त्यसैगरी लक्षित समूह खोपबाट बञ्चित भएका छन् । आफन्त र कार्यकर्ताका लागि मन्त्रीसम्मले दबाब दिएको खुलेको छ । 

कोरोना संक्रमणविरुद्धको खोप लगाउन लषित समूहमा पर्ने दीपेन्द्र प्राविका शिक्ष मिलन राई बुधबार बिहान १० बजेदेखि बेलुकाको ४ बजेसम्म लाइनमा बसे । तर, ४ बजेपछि खोप सकिएको खबर आयो । उनी ८ घण्टा लाइन बसेर पनि खोप नलगाई घर फर्के । 

उनी मात्रै होइन । उनीसहित ५ जना शिक्षकले खोप लगाउन पाएनन् । कारण उनीहरु कुनै राजनीतिक दलको वा जनप्रतिनिधिको सिफारिसमा आएका थिएनन् । राजनीतिक दल र जनप्रतिनिधिका आसेपासेलाई नेताका घर, होटल र ट्रेनिङ सेन्टरमै लगेर रातारात खोप लगाइयो । त्यसको असर लक्षित समूहमा पर्यो । आजको ब्लाष्ट दैनिकको अग्रपृष्ठमा समाचार प्रकाशित भएको छ । 


कर्मचारीमाथि दुर्व्यवहार

धरान उपमहानगरले खोप केन्द्रमा अनियमितता गरेको समाचार प्रकाशित भएको छ । लक्षित समूहभन्दा फरक समूहलाई खोप लगाएपछि उपमहानगरले अनुगमनका लागि भन्दै कर्मचारी खटाएको थियो । तर, अनुगमनमा जाने कर्मचारीलाई धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बूले दुव्र्यवहार गरेको समाचार छ । 

उनले ती कर्मचारीको मोबाइल फ्याँकिदिएका छन् । वडाध्यक्ष लिम्बूका विरुद्ध उपमहानगरमा उजुरी परेको छ । 


खोप माग्दै मेयरविरूद्ध नाराबाजी 

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले बुधबार मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर कोरोना विरुद्धको खोप लगाइदिएको विरोधमा बिहीबार महानगरपालिका अगाडि प्रदर्शन भएको छ ।

कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै सर्वसाधारणले महानगरपालिका सामुन्ने प्रदर्शन गरेका हुन् । 

उनीहरुले मेयर पराजुलीको विभेदपूर्ण कार्यप्रति असन्तुष्टि जनाउँदै नैतिकताको आधारमा राजीनामाको माग समेत गरेका छन् । 

ब्लाष्ट दैनिकको अग्रपृष्ठमा समाचार प्रकाशित छ ।