चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ ।

सन दावूले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

सतसट्ठी वर्षीय सनले विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा बोलेका थिए ।

झैझगडा शुरू गरेको र समस्या निम्त्याएको आरोपमा उनलाई दोषी पाइएको छ । त्यो आरोप प्रायः अधिकारकर्मीहरूमाथि लगाउने गरिएको छ ।

के छन् अन्य आरोप?

उनीमाथि लगाइएका अन्य आरोपमा गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पु¥याएको लगायत छन् ।

उनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ ।

अर्बपति सनको कम्पनी चीनका ठूला कम्पनीमा पर्छ जुन कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ ।

सरकारी स्वामित्वको एउटा फार्मसँग जग्गासम्बन्धी विवादलाई लिएर गत वर्ष नै २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई गिरफ्तार गरिएको बताइएको छ ।

समाचार संस्था एएफपीका अनुसार त्यति बेला उनले प्रहरीबाट आफ्ना दर्जनौँ कामदार घाइते भएको बताएका थिए ।

सरकारी नीतिका आलोचक

चीनका केही प्रमुख राजनीतिक आलोचकहरूसँग सन नजिक रहेको र विगतमा उनले सरकारका ग्रामीण नीतिहरूको आलोचना पनि गरेका थिए ।

अफ्रिकन स्वाइन फ्लु फैलिएको घटनालाई ढाकछोप गरेकोमा चिनियाँ सरकारको आलोचना गर्ने थोरै व्यक्तिमा सन पनि पर्छन् ।

सन् २०१९ मा चीनमा फैलिएको अफ्रिकन स्वाइन फ्लुबाट अर्बपति सनका पनि व्यवसाय प्रभावित भएको थियो र पछि त्यस देशको अधिकांश कृषि क्षेत्रमा व्यापक असर पु¥याएको थियो ।

गैरकानूनी रूपमा पैसा सङ्कलन गरेको आरोपमा सन् २००३ मा पनि उनलाई जेलसजाय सुनाइएको थियो ।

तर अधिकारकर्मी तथा नागरिकहरूले उनीप्रति जनाएको व्यापक समर्थनपछि त्यो मुद्दा उल्टाइएको थियो ।

मुद्दाको पूर्वसुनुवाइका क्रममा उनले आफूविरुद्ध लगाइएका धेरै आरोपहरू अस्वीकार गरेको र आफूलाई ‘कम्युनिस्ट पार्टीका एक राम्रा सदस्य’ का रूपमा चिनाएको बताइन्छ ।

चिनियाँ सरकारले देशका व्यापारी तथा उद्योगपतिमाथि कारबाही गर्दै आएको छ ।

नियमनसम्बन्धी विवादलाई लिएर अहिले अलीबाबा, डीडी र टेन्सेन्टसहित ठूला प्रविधि कम्पनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

- बिबिसी/ नेपाली