बुधबार धरान छाताचोकस्थित पुरानो अस्पताल खोप केन्द्रमा ७०० जनालाई कोरोना संक्रमणविरुद्धको भेरोसेल (चाइनिज) खोप प्रदान गरिएको छ । सामान्य विवादका बीच अस्पतालमा सबै उमेर समूह र वैदेशिक रोजगारमा जान तयारी युवाहरुले खोप लगाए ।

६ सय जनालाई खोप लगाउने तय गरिए पनि जनप्रतिनिधिले डेढसय खोप बोकेर हिंडेपछि जनप्रतिनिधिबीच भनाभन भयो । वितरण केन्द्र समेत रहेको अस्पतालबाट धरान उपमहानगरपालिका मेयर तिलक राईले ‘५० वटा खोप लानू’ भन्ने मौखिक आदेश भयो । आदेशपछि वडा नं. ५ का वडाध्यक्ष सन्तोष लिम्बूले १५० खोप लिएर आफ्नो वडातिर लागे । 

यता पुरानो अस्पतालमा ५५ वर्षदेखि माथिका नागरिक र विदेश जानेहरुका लागि ६०० खोपको तयारी गरिएकामा अपुग हुने भन्दै चर्काचर्की पर्यो । विवाद भएपछि मेयर राईले १०० वटा खोप पुनः थप गरिदिए । 

अस्तव्यस्तताका कारण छाताचोक स्वास्थ्य चौकी केन्द्रमा २ सयभन्दा बढी खोप अभाव भएको वडा नं. १ का अध्यक्ष रोशन अधिकारीले बताए । उनले उपमहानगरका सबैभन्दा बढी जनसंख्या भएका वडाहरु तोकेर छाताचोक केन्द्रमा खोपको व्यवस्था गर्दा अस्तव्यस्त भएको बताए । 

पुरानो अस्पताल खोप केन्द्रमा ६ वटा वडाका स्थानीयलाई खोप लगाइँदैछ । सो केन्द्रमा वडा नंं. १६, १२, १० ३, २, १ का वडावासी, वैदेशिक रोजगारीमा जाने युवा र ५५ वर्षमाथि उमेर समूहका नागरिकका लागि खोपको व्यवस्था गरिएको छ ।

फ्रन्टलाइनमा काम गर्नेहरुका लागि खोप लगाइसकेपछि सर्वसाधारणको पहुँचमा पुर्याउने काम सरकारले गर्दै छ । तर पनि विवादविहीन काम भने हुन सकेको छैन । जनप्रतिनिधि, कर्मचारी र नेताहरुको आदेश र सिफारिसमा मापदण्ड मिचेर खोप लगाउने काम भइरहेको खोप केन्द्रमा उपस्थितले गुनासो गरेका छन् । 

बुधबार ५५ वर्षदेखि माथिका नागरिक र विदेश जानेहरुका लागि र तोकिएका ६ वटा वडाका नागरिकहरुलाई खोप लगाउनु पर्नेमा मापदण्ड मिचिएको आरोप लागेको छ । यसरी मापदण्ड मिच्नेमा कर्मचारी र जनप्रतिनिधिहरुकै सिफारिसले बल पुगेको देखिन्छ । 

sifaris patra khop

भीआईपीलाई रातपरेपछि खोप

धरान उपमहानगरपालिकामा निश्चित केन्द्र तोकेर खोप लगाउने व्यवस्था भए पनि जनप्रतिनिधिको आदेशमा रातविरात, ट्रेनिङ, सेन्टर र होटलमा समेत खोप लगाएको तथ्य फेला परेको छ । 

पहिलो चरणको भेरोसेल खोप कार्यक्रममा नेता कार्यकर्ता र भीआईपीलाई रातपरेपछि होटलमा खोप लगाएको तथ्य खुलेको छ । 

शान्तिपथस्थित एउटा निजी ट्रेनिङ सेन्टरमा कांग्रेस नेता कार्यकर्ताहरुलाई खोप लगाएको तथ्य फेला परेको छ ।  त्यस्तै धनकुटे रोडस्थित नाम चलेको होटलमा एमालेका स्थानीय नेता र भीआईपीलाई खोप लगाइएको तथ्य फेला परेको छ । 

खोपका लागि भने धरान उपमहानगरपालिकाले धरानका ७ स्थानमा केन्द्र तोकेको थियो । धरान स्वास्थ्य चौकी छाता चोक, पाँचकन्या स्वास्थ्य चौकी ठिंगाबारी, विष्णुपादुका स्वास्थ्य चौकी, धरान सभागृह, आधारभूत स्वास्थ्य केन्द्र धरान १३, पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय र कार्मेल हाइस्कुल धरान १८ लाई केन्द्र तोकिएको थियो ।

समाचारका विषयमा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतालाई बुझ्न खोज्दा उनको मोबाइल फोनमा ‘स्वीच अफ’ टोन आएको थियो ।

धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘रिङ टोन’ गए पनि फोन विच्छेद गरेका थिए । उनले मोबाइल फोन व्यस्त बनाएका थिए ।

khop karyakram dharan

जन्स्सेनको खोप बन्द

धरान उपमहानगरपालिकाले लगाउने मिति समेत तय गरेको जन्स्सेन (अमेरिकी) खोप अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरेको जानकारी गराएको छ । साउन १४, १५ र १६ गते लगाइने भनिएको खोप तत्काल स्थगित गरेको हो । 

janssan banda