सुनसरी। सार्वजनिक यातायात सञ्चालनमा आएसँगै  कोरोना सङ्क्रमण फैलिने जोखिम बढेको छ । सार्वजनिक यातायात सञ्चालनमा आएपछि सुनसरीमा स्वास्थ्यका न्यूनतम मापदण्ड समेत पालना नगर्दा कोरोना सङ्क्रमण फैलिने जोखिम बढेको हो ।

नेपालसहित विश्वव्यापी रूपमा फैलिएको कोरोनाको दोस्रो लहरका कारण महिनौंदेखि ठप्प रहेको यातायात सञ्चालनमा आएपछि सङ्क्रमण फैलिने खतरा बढेको छ ।

सार्वजनिक यातायातमा यात्रा जोखिमपूर्ण रहेको बताउँदै बसमा यात्रा गरिरहेका यात्रु प्रदीप यादवले भने, ‘न ढोकामा सेनिटाइजर छ, न त यात्रुले मास्क नै लगाएका छन् ।’ आवश्यक काम परेर इटहरी जान लागेको बताउने उनले गुनासो गर्दै भने, ‘अधिकांश यात्रुले मास्क लगाएका छैनन्, न त चालक र सह–चालककोे हातमा पञ्जा नै देखिन्छ । यस्तो अवस्थामा कोही व्यक्ति सङ्क्रमित रहेको पाइएमा त्यसबाट कति फैलिने होला ?’–उनले प्रतिप्रश्न गर्दै भने ।

सरकारले भौतिक दूरी कायम गरी एक सिटमा एकजना मात्रै यात्रु राख्न भने पनि त्यस्तो अवस्था नरहेको अर्का यात्रु लक्ष्मी देवले बताइन् । ‘यहाँ त मापदण्ड तोके पनि अधिकांश सार्वजनिक यातायातमा भने सिटभरि यात्रु राखेर सञ्चालन गरिरहेका छन्’ उनले भनिन्, ‘भीडभाड बढी भए पनि सिटभरि मात्रै नभई कतिपयले त उभ्याएरसमेत यात्रु राख्ने गरेको देखियो ।’

कोरोना सङ्क्रमण पुनः तीव्र गतिमा फैलिनबाट रोक्न स्वास्थ्य मन्त्रालयले पटक–पटक मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिए पनि कार्यान्वयनमा आएको देखिँदैन । कोरोना सङ्क्रमित बढिरहेका बेला किन यत्रो मान्छे चढाएको भन्दा ‘चढ्न मन लागे चढ्नु नलागे नचढ्नु’ भनेर उल्टै सह–चालकले थर्काउने गरेको लक्ष्मीको गुनासो छ ।

सार्वजनिक यातायात कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने माध्यम् बन्नसक्नेतर्फ समयमै सतर्क हुन आवश्यक भएको बताउँदै उनले सरकारी तवरबाट प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गरिन् ।

मनपरी भाडा
लामो समयपछि सञ्चालनमा आएको सार्वजनिक यातायातमा मनपरी भाडा लिने गरेको गुनासो पनि बढेको छ । सार्वजनिक यातायात सञ्चालनमा आएसँगै सिटभरि यात्रु राखेर पनि सरकारले तोकेकोभन्दा बढी भाडा लिने गरेको गुनासो आएको हो ।

सरकारले स्वास्थ्यको न्यूनतम मापदण्ड पालना गरी भाडा बढाउने निर्णय गरे पनि सार्वजनिक यातायातमा भने मनपरी भाडा लिने गरिएको गुनासो आएको छ । विगतमा इनरुवादेखि विराटनगरसम्म माइक्रोबसमा ६० देखि ७० रुपैयाँ लिने गरिन्थ्यो तर, अहिले १ सयदेखि १ सय ४० रुपैयाँसम्म लिने गरेको यात्रुहरूले बताएका छन् ।

सार्वजनिक यातायातमा भाडामा एकरूपता नभएको बताउँदै यात्रुहरूले गाडीपिच्छे भाडादर फरक– फरक हुने गरेको बताए । भाडा बढी लिए पनि लामो दूरीका यातायातले स्वास्थ्य मापदण्ड पालना गरेको देखिन्छ भने छोटो दूरीमा सञ्चालन हुने बस, माइक्रोबस, टेम्पो, म्याजिकलगायतका सवारीसाधनमा भने भाडादरमा मनपरीसँगै स्वास्थ्य मापदण्ड पालना भएको पाइँदैन । जसले गर्दा सङ्क्रमण फैलिने जोखिम बढेको यात्रुले गुनासो गरेका छन् ।