इटहरी। पछिल्लो समय इटहरी–१९ र २० तरहरा क्षेत्रमा माछा व्यापारीका चर्को ध्वनि प्रदूषणले सर्वसाधारण हैरानीमा परेका छन् । छिनछिनमा ‘माछी मार न हो दाइ भरेलाई चटनी.....’ भन्दै गाडीमार्फत् माछा बिक्रीका लागि माइक आतङ्क भइरहेको छ ।

पछिल्लो  समय व्यापारीले गाडीमार्फत् चौक र बजारसम्म डुलाउँदै माछा बेच्ने क्रम बढ्दो छ । गाडीमा माछा राखेर चर्को ध्वनि गरेर बजारीकरण गर्दा ध्वनि प्रदूषणले चौक र बजारका बासिन्दा बढी प्रभावित हुनुपरेको स्थानीयबासी गुनासो गर्छन् । दिनमा चार–पाँच पटकसम्म ठूलो साउण्ड लगाएर गाडीहरू ओहोर–दोहोर गर्ने गरेका छन् ।

इटहरी–१९ का पूर्व भारतीय सैनिक दिलप्रसाद राईले माछा व्यापारीको चर्को ध्वनि प्रदूषणले हैरानी भएको बताउँछन् । उनले भने, ‘माछा बेच्नका लागि गरिने यस्तो प्रचार शैली सम्बन्धित निकायले तुरुन्त रोक लगाउनुपर्छ ।’ आफ्नै घरअँगानमा माछा ल्याए पनि माछा खान योग्य छ कि छैन भनेर प्रशासनले अनुगमन गर्नुपर्ने राई बताउँछन् । उनी भन्छन्, ‘छिन–छिनमा माछा बेच्नेको माइक आतङ्क छ ।’

बिर्तामोडको हेभन वाटर पार्कदेखि पनि इटहरी बजारमा माछा बिक्री गर्न ल्याउने गरेका छन् । मोरङको विराट एकीकृत कृषि फर्म प्रालि कटहरी मोरङको माछाका गाडीहरू यस क्षेत्रमा धेरै आउने गरेका छन् । माछा बिक्री भित्री सहरमा धेरै हुने भन्दै उनीहरू ध्वनि प्रदूषण गर्दै आउने गरेका छन् ।

इटहरी–१९ की सुस्मिता राई माछी मार न....ले पढ्दै गरेका नानीहरूलाई तर्साउने समेत गरेको बताउँछिन् । गाडीमा माछा राखेर बेच्ने यस्ता फार्म हाउसले आफ्नै उत्पादनसँगै अन्य माछापालक किसानको माछा किनेर पनि उपभोक्तालाई बिक्री गर्ने गर्छन् । गाडीमा राखेर गाउँ–गाउँमा डुलाउँदै माछा बेच्दा धेरै बिक्री हुने गरेका कारण पनि व्यापारीले चर्को ध्वनि गरेर व्यापार गर्न आकर्षित भएका छन् ।

बजारमा एकपछि अर्को माछा बेच्ने गाडीहरू हो–हल्लासहित हुइँकिने गरेका छन् । मे.१ च ६१६९ नम्बरको गाडीमा पनि माछा मार्न जाउँ न दाजै... भन्ने गीत घन्काउने गरेको पाइएको छ । लु.अ २८७५ नम्बरको नयाँ गाडीमा पनि माइक फिट गरे ध्वनि प्रदूषण गरी माछा व्यापार गर्ने गरेका छन् ।

अन्य कतिपयले त्यसैको सिको गर्दै धमाधम बजार खोज्न थालेपछि प्रचारशैलीमाथि सार्वजनिक रूपमा रोक लगाउन मागसमेत बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । तरहरास्थित आकाश किराना पसलका सञ्चालक जयबहादुर खड्काले पनि बाजागाजासहितको प्रचारशैली असभ्य भएको बताउँछन् ।

सबै माछा व्यापारीले यसरी नै बजारमा डुलाउँदै जाने हो भने के अवस्था होला ? उनी भन्छन्, ‘आतङ्क फैलाएर बजार प्रभावित गर्न पाइँदैन ।’ सरकारले सवारी साधनलाई समेत हर्न बजाउन निषेध गरिआएको अवस्थामा माछा व्यापारीले भने चर्को बाजागाजा गरेर व्यापार गर्दा नियमनकारी निकाय बेखबर छ । स्थानीय तह र प्रहरीले सार्वजनिक रूपमा रोकावट गरेका छैनन् । जसका कारण उनीहरू भित्री सडकहरूमा माइकिङ गर्दै व्यवसाय गरिरहेका छन् ।