ट्युनिसियाका राष्ट्रपतिले संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ । 

ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले संसद पनि निलम्बन गरेको बताइएको छ ।

आइतबार राति उनले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए ।

राष्ट्रपति काइस सेइदले आइतबार राति चालेका कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन् । त्यसपछि सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् । उनले अकस्मात गरेको सो घोषणामा अर्काे प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

त्यसैगरी संसद पनि उनले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन् । आइतबार मात्र नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए ।