धरान। हङ्कङ नेपाली महासङ्घले नेपाली श्रमिकहरूलाई पनि डोमेस्टिक हेल्पर (घरेलु कामदार) को रूपमा भिसा खुलाउन पहल सुरु गरेको छ । हङ्कङ सरकारले नयाँ सुरक्षा कानून लागू गरेपश्चात् महासङ्घले नेपाली श्रमिकहरूका लागि पनि डोमेस्टिक हेल्परको भिसा दिन पहिलोपटक हङ्कङ सरकारसँग छलफल र वार्ताको प्रयास गरेको हो ।
महासङ्घका अध्यक्ष टङ्क रानाका अनुसार हङ्कङ सरकारसँग वार्ता र छलफलका लागि वातावरण मिलाइदिन नेपालका लागि हङ्कङका महावाणिज्य दुत उदयबहादुर राना मगर र वाणिज्य दुत किरणकुमार गुरुङलाई शनिबार महासङ्घमा निमन्त्रणा दिएर यस्तो प्रस्ताव राखेको हो ।
महासङ्घको निमन्त्रणापश्चात् कउलुन जिल्लाको नाथान रोडमा रहेको मङ्कोकस्थित महासङ्घको कार्यालय भ्रमण अवलोकन गर्न आएका बेला नेपाली श्रमिकलाई हङ्कङमा डोमेस्टिक हेल्परको भिसाका लागि नेपाल सरकार र हङ्कङ सरकारबीच वार्ताको वातावरण मिलाइदिन आफूहरूले आग्रह गरेको अध्यक्ष रानाले बताए ।
उनका अनुसार हङ्कङमा ४० देखि ५० हजार नेपालीहरू हङ्कङ आइडी लिएर सन् १९९७ देखि बस्दै आएका छन् । तर, हङ्कङमै जन्मेको आइडी नभएका नेपालीहरूले डोमेस्टिक हेल्परको रूपमा भिसा पाउने गरेका छैनन् । जबकी फिलिपिन्स, भारत, पाकिस्तानजस्ता अन्य मुलुकका नागरिकलाई भने हङ्कङ सरकारले डोमेस्टिक हेल्परको भिसा दिने गरेको छ ।
उनले डोमेस्टिक भिसाका लागि महासङ्घले हङ्कङ सरकारसँग समन्वय गर्न सक्ने र त्यसका लागि नेपाल सरकारले हङ्कङ सरकारसँग ठोस प्रस्ताव राखिदिन महावाणिज्य दुत रानासँग आग्रह गरेको बताए । उनले भने, ‘हङ्कङ सरकार र यहाँका चिनियाँ नागरिकहरू नेपाली समुदायप्रति सकारात्मक देखिएका छन् । विश्वास गर्छन् । तर, डोमेस्टिक हेल्परको बारेमा औपचारिकरूपमा दुई मुलुकबीच समन्वय र वार्ता सम्झौता हुन सकेको छैन ।’
महासङ्घका अध्यक्ष रानाले वैदेशिक रोजगारीका लागि हङ्कङ सुरक्षित मुलुक भएकाले नेपालीहरूको छातासङ्गठन महासङ्घले डोमेस्टिक हेल्परमा आउन चाहने नेपाली नागरिकका लागि पनि खुला गर्नुपर्छ भनेर वकालत गर्दै आएको बताए ।
उक्त अवसरमा महासङ्घका संरक्षक तथा पूर्वअध्यक्ष प्रदीप थापाले नेपाली नागरिकले हङ्कङमा डोमेस्टिक हेल्परको रूपमा प्लम्बर, विद्युत्, टनेल, निर्माण क्षेत्रमा काम गर्ने अवसर पाए अन्य मुलुकको तुलनामा राम्रो आम्दानी गर्न सक्ने र आफ्नो मुलुकमा वार्षिक रूपमा अर्बांै रुपैयाँ रेमिट्यान्स भिœयाउन सक्ने बताए । महासङ्घका पूर्वअध्यक्ष तथा हङ्कङ सरकारबाट नेपाली समुदायका लागि लगानी र प्रवद्र्धन गरिएको कम्युनिटी सपोर्ट टिम फर नेप्लीज प्रोजेक्टका संयोजक रीता गुरुङले हङ्कङमा नेपाली समुदायको अवस्था, सांस्कृतिक, आर्थिक, सामाजिक र शैक्षिक अवस्था बारे संक्षिप्त जानकारी दिइएकी थिइन् ।
उनले हङ्कङ सरकारको सहयोगमा नेपाली समुदायमाझ विभिन्न तालिम र कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइकी थिइन् । पूर्वअध्यक्ष हेम लिम्बूले महासङ्घ स्थापनाकालदेखिका अध्यक्षहरूको महत्वपूर्ण योगदान तथा भूमिकासहित विस्तृत जानकारी दिएका थिए ।
महासङ्घको प्रस्ताव सुनिसकेपछि महावाणिज्य दुत रानाले हङ्कङ सरकारले नेपाली समुदायको हितका लागि महासङ्घलाई विश्वास गरेर विभिन्न कार्यक्रम दिएको बुझ्दा डोमेस्टिक हेल्परको भिसाका लागि महासङ्घले राखेको प्रस्ताव खेर नजाने सम्भावना रहेको बताए । उनलाई उद्धृत गर्र्र्र्दै अध्यक्ष रानाले भने, ‘तपाईंहरूको प्रस्ताव समग्र नेपालीको हितमा मात्र नरहेर हङ्ेकङ बस्ने नेपालीहरूको पक्षमा पनि छ । नेपाल सरकारसँग समन्वय गरेर हङ्कङ सरकारसँग यस विषयमा वार्ता गर्ने वातावरण बनाउने प्रयास गर्नेछु ।’
उक्त अवसरमा महासङ्घका सल्लाहकार तथा कृति एजुकेशन केन्द्रका पुष्पा गुरुङ, नेपाल चेम्बर कमर्स अफ हङ्कङ अध्यक्ष डासुराम पराजुली, महासङ्घका पूर्वसचिव डा.चुरा थापा र सल्लाहकारहरूले पनि महासङ्घले समन्वय गर्ने र सो प्रस्तावलाई महावाणिज्य दुत राना र वाणिज्य दुत गुरुङले नेपाल सरकार र हङ्कङ सरकारबीच वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए ।