अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनले तयार पारेको कोरोना विरुद्धको खोप सुनसरीमा ११ गते सोमबारबाट लगाइने भएको छ । 

एक डोजमात्रै लगाउँदा हुने उक्त जे एण्ड जे कोभिड १९ खोप सोमबारबाट जिल्लाका सबै स्थानीय तहमा लगाउन लागिएको हो । 

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले स्वास्थ्य सेवा विभागको मिति २०७८ असार २८ गतेको पत्रानुसार उपलब्धताका आधारमा खोप लगाउन निर्णय गरेको हो । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले साेमबारबाटै भेरोसेल खोप समेत लगाइने जानकारी दिए । 

प्रजिअ ढकालका अनुसार जिल्लाका सबै स्थानीय तहलाई खोप उपलब्ध गराइने छ । सोही आधारमा तोकिएका स्वास्थ्य संस्था र निर्धारित केन्द्रबाट खोप लगाइने छ । 

प्रजिअ ढकालले सबै जिल्लावासीलाई खोप लगाउने योजना अनुसार उपलब्धताका आधारमा प्राथमिकता क्षेत्र र वर्ग निर्धारण गरी क्रमशः खोप कार्यक्रम संचालन गर्दै लगिने बताए । 

ढकालले जे एण्ड जे र भेरोसेल खोप पुनः आउने क्रममा रहेकाले कमी नहुने भएकाले अभियान निरन्तर चल्ने बताए । प्रजिअ ढकालले कोभिशिल्डको पहिलो मात्रा मात्रै लगाएकाको हकमा समेत केही सातामै दोस्रो डोजको उपलब्धताको सम्भावना रहेको जानकारी दिए । 

जोन्सन र भेरोसेल खोप लगाउन सुनसरीमा ६९ वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार १ सय ४१ खोप सेसन संचालन हुनेछ । 

स्वास्थ्य प्रमुख सागर प्रसाईले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन ठोस योजना बनाइएको बताएका छन् । उनले तोकिएको र लक्षित वर्गबाहेकको हकमा खोप नलगाइने बताए ।

प्रसाईंका अनुसार जोन्सन खोप जिल्लाभित्र बसोबास गर्ने ५० देखि ५४ वर्ष उमेर समूहका नेपाली नागरिकले मात्र पाउने छन् । पूर्ण र अति अशक्त अपाङ्गता क र ख वर्गका नागरिकलाई उक्त खोप लगाइने छ । 

त्यसैगरी यस अघिका अभियानमा छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीका साथै विदेश जाने र वैदेशिक रोजगारमा कार्यरत सुनसरीका नागरिकले समेत खोप लगाउन पाउने छन् । उनका अनुसार आधिकारिक परिचय खुल्ने कागजातका आधारमा मात्र खोप दिइने छ । 

भेरोसेल खोप भने ५५ वर्ष र सो भन्दा माथिका उमेर समूहलाई लगाइने प्रसाईंले बताए । शिक्षक, कर्मचारी,सार्वजनिक यातायातका चालक, सह–चालकले समेतले भेरोसेल खोप लगाउन पाउने प्रसाईले जानकारी दिए । उनका अनुसार खोप अनिवार्य गरेको देशमा जाने जिल्लावासीको हकमा पासपोर्ट र भिषाको आधारमा समेत खोप लगाउन दिइने छ ।