ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहले खाली जग्गामा विभिन्न जातका ११ हजार २ सय बिरुवा रोप्ने काम सुरु गरेको छ ।  

मोरङको कानेपोखरी गाउँपालिकामा रहेको सो वनको क्षेत्र नं. ३ समूहको खाली जग्गामा वृक्षरोपणको काम सुरु गरेको हो । बुधबार एक कार्यक्रम आयोजना गरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्रप्रसाद शाह र सामुदायिक वन उपभोक्ता वन महासंघको १ नम्बर प्रदेश समिति सचिव अग्नि पौडेलले सामूहिक रुपमा विरुवा रोपेर उद्घाटन गरेका थिए । 

वनको सात हेक्टर जग्गामा बिरुवा रोप्ने काम सुरु भएको छ । उक्त क्षेत्रमा टिक, जमुना, सिरिस, मसला, फरिन, बेल, चाँप, रुद्राक्ष, अम्बा जातको ११ हजार बिरुवा रोपिने भएको हो । 

वृक्षरोपणको लागि २१ लाख खर्चको योजना रहेको ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष नवीन राईले बताए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष काफ्लेले गाउँपालिले वन ऐन निर्माण गरी सकेको बताउँदै बिरुवा जोगाउने कार्यक्रमा लाग्न उपभोक्तालाई अनुरोध गरेका थिए । 

विशेष अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्रप्रसाद शाहले बिरुवा चाँडो बढाउन मल्टीभिटामिन दिन र वृक्षरोपण क्षेत्रमा दाल जातको खेती लगाए उत्तम हुने सुझाव दिएका छन् ।

मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई, सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसी लाल यादव, ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवीन राई, राजनीति दलका प्रतिनिधिलगायतको उपस्थितिमा वृक्षरोपण सुरु भएको थियो ।

उद्घाटन कार्यक्रमको सभापतित्व ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूह ३ नम्बर क्षेत्रीय समितिको संयोजक शेरबहादुर लिम्बूले गरेका थिए । वृक्षरोपणका लागि झाडी सफाइ, रुखको पुरानो जरा उखल्ने, जोत्नुको साथै कङ्क्रिटको पिलरको खम्बा र जालीले सात हेक्टर क्षेत्र घेराबारा गरिएको छ ।