‘तपाईकै घरमा पानी नआउने, तपाईकै घरमा गाडी नआउने, नाटक गर्नुहुन्छ ? कति नेगेटिभ तपाई ?


स्थानीय तहको निर्वाचन भएर सरकार सञ्चालन गरेको लामो समयपछि धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ विवादको घेरामा तानिएका छन् । 

खानेपानी र फोहोर संकलन गर्ने गाडी नियमित आफ्नो टोलमा नआएको विषयमा नगर प्रमुखसँग जिज्ञासा राख्दा उल्टै गाली–गलोज गरेको आरोप धनकुटा नगरपालिका वडा नं. ६ परिचयमोड घर भएकी कोपिला शंकरले लगाएकी छन् । शंकर जनमोर्चा नेपाल धनकुटाकी जिल्ला सचिव हुन् । 

शंकरले असार २८ गते दिउँसो ११.३० बजे फोनमार्फत् नगर प्रमुख तामाङ र आफू बीच भएको विवादलाई आधार बनाएर पत्रकार सम्मेलन गरेकी हुन् । 

पत्रकार सम्मेलनमा उनले महिनौं अघिदेखि आफ्नो घर टोलमा खानेपानी र फोहोर संकलन गर्ने गाडी नगरपालिकाले नपठाएको भन्दै फोन गरेर अनुरोध गर्दा नगर प्रमुख तामाङले घर छोडेर जानुहोस् भनेर धम्किपूर्ण जवाफ दिएको आरोप लगाएकी छन् । 

नेतृ शंकरले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा–‘तपाईकै घरमा पानी नआउने, तपाईकै घरमा गाडी नआउने, नाटक गर्नुहुन्छ ? कति नेगेटिभ तपाई ? तपाईको वडाध्यक्षलाई भन्नुस्” भनिएको आरोप उल्लेख गरेकी छन् । पत्रकार सम्मेलनमा बोल्दै शंकरले भनिन्– ‘म जतिको महिला माथि त यस्तो व्यवहार गरिन्छ भने आम निमुखा जनताले कस्तो व्यवहार भोग्नु परिरहेको छ ।’ 

नगर प्रमुखको अपमानित व्यवहारले आफूलाई अति नै मानसिक तनाव भएको भन्दै सार्वजानिक रुपमा माफी माग्नु पर्ने शंकरले विज्ञप्तिमा भनेकी छन् । उनले विज्ञप्तिमा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रमुखहरुलाई आफ्नो आत्मसम्मानका लागि गम्भीर भइदिन आग्रह समेत गरेकी छन् । 

आरोपको विषयमा नगर प्रमुख चिन्तन तामाङलाई ब्लाष्टले सम्पर्क गर्दा उनले विज्ञप्तिमा भनिएको विषयहरु तत्थ्यहीन भएको बताए । 

‘अब आर्थिक वर्ष पनि सकियो, चुनावी तयारी हुन सक्छ, ममाथि षड्यन्त्रका तानाबाना शुरु भएको अनुभूत भएको छ,’ नगर प्रमुख तामाङले भने, ‘उहाँको घरमाथिको हाइटेन्सन जस्तो विद्युतको तार हटाउनेलगायतका काम गरुञ्जेल राम्रो हुने, अहिले आएर खानेपानी, फोहोर उठाउने गाडी आएन भनेर मलाई वदनाम गराउन खेल खेल्ने ?’ 

प्रमुख तामाङले धनकुटामा खानेपानीको समस्या रहेको बताए । तर यो समस्या स्थानीय सरकार आउनु भन्दा पहिले पनि रहेको र त्यसको दीर्घकालनी समाधानका लागि योजना बनाउने काम भइरहेको बताए । 

‘लकडाउनको बेला फोहोर उठाउने गाडीले केही दिन सबैतिर फोहोर संकलन गरेन होला त्यो म मान्छु, तर आएन भन्दैमा जनप्रतिनिधिलाई तपाई कहाँ हुनुहुन्छ ? भन्दै धम्क्याउने ?’ नगर प्रमुख तामाङले प्रश्न गरे ।

पत्रकार सम्मेलनमा जनमोर्चाका जिल्ला नेता तुलमान राई, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका निवर्तमान अध्यक्ष दोर्णप्रसाद गुरागाईं, दलित एकता समाजका पूर्व संयोजकहरु गोपाल विक, रवीन्द्र नेपाली, जसपाका धनकुटा जिल्ला उपाध्यक्ष पार्वती राई,  नगर अध्यक्ष दिलकुमार राई, कांग्रेस नेतृ सुमना तिम्सिना लगायतको उपस्थिति थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोपिला शंकर । तस्विरः  ब्लाष्ट /सन्तवीर लामा