नेपाल पत्रकार महासंघ सुनसरीले बराहक्षेत्रका पत्रकारलाई लेखनवृत्ति (फेलोसिप) वापत्को अनुदान रकम वितरण गरेको छ । 

बराहक्षेत्र नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको लेखनवृत्ति कार्यक्रममाअन्तर्गत बराहक्षेत्रका सञ्चारकर्मीले अनुदानवापत् रकम बुझेका हुन् ।

बराहक्षेत्रका ६ पत्रकारलाई  ४ हजार पाँच सय रुपैयाँका दरले लेखनवृत्ति अनुदान प्रदान गरिएको थियो । बराहक्षेत्र नगरपालिकाले विनियोजन गरिदिएको ४० हजार रकमबाट पत्रकार महासंघ सुनसरीले लेखनवृत्ति परियोजना सञ्चालन गरेको थियो । 

अनुदान वितरण कार्यक्रममा महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले आगामी वर्ष अनुदान रकम वृद्धि गर्ने गरी नगरले प्रतिबद्धता जनाएको बताए । 

६ जना पत्रकार र एक जना सम्पादकलाई लेखनवृत्ति वापत्को रकम प्रदान गरिएको महासंघ सुनसरीका सदस्य शुक्रान्त राईले जानकारी दिए ।

नगरका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले बराहक्षेत्रको विकासका प्रयासबारे जनमानसमा पुर्याउन लेखनवृत्तिले सहयोग पुर्याएको बताए । कार्यक्रममा नगरका सामाजिक विकास अधिकृत अरुण मेहता, प्रशासन प्रमुख राजकुमार गौतम, पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई,  सुनसरी उपाध्यक्ष गणेश निराैला, नगरका प्रेस संयोजक नवराज विष्टलगायतको उपस्थिति थियो ।