नेपाली कांग्रेस धरानले सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको निर्णय बदर गरेपछि स्वागत गर्दै दीप प्रज्ज्वल गरेका छन् । 

नेपाली कांग्रेसको पार्टी कार्यालय नजिक बुद्धचोकमा दीप प्रज्ज्वलन गरेको हो । ‘सम्मानित सर्वोच्च अदालतको निर्णयलाई सम्मान गरौं, लोकतन्त्र जिन्दावाद’ भन्दै उपस्थितले नाराबाजी गरेका थिए ।

नेपाली कांग्रेस धरान १८ को आयोजनामा बुद्धचोकमा दीप प्रज्ज्वलन गरिएको कांग्रेस नेता श्याम पोख्रेलले बताए । 

दीप प्रज्ज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस धरानका नगरसभापति एवम् धरान उपमहानगरपालिकाका मेयर तिलक राई, वडा नं. १८ का वडाध्यक्ष प्रवीण राई, कांग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, कांग्रेस धरानका उपसभापति राजेन्द्र राई, कांग्रेस नेताहरु विनोद राई, अजय राई, सुजेन्द्र गोलेलगायतको उपस्थिति रहेको थियो ।

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि कांग्रेसमा खुसीयाली छाएको छ ।

यता नेकपा एमालेका जनवर्गीय संगठनले देशव्यापी रुपमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले ‘सबै फैसला मान्दैनौं’ भन्दै चोकचोकमा नाराबाजी गरिरहेका छन् ।