धरान (ब्लाष्ट) सुनसरीका आधा दर्जन स्थानीय तह भारतीय सीमावर्ती क्षेत्रमा पर्छन् । ती स्थानीय तहहरूको सिमाना भारतसँग प्रत्यक्ष जोडिएको छ, जुन वर्षौंदेखि खुला छ । ती स्थानीय तहहरूमा कोरोना सङ्क्रमण दर र मृत्यु दर भने सोचे विपरीत धेरै कम छ । जहाँ सुविधासम्पन्न अस्पताल, अक्सिजन, चिकित्सक, उपचार सेवा विरलै छन् ।

तर, सामान्यतया सबैखाले उपचार सेवाको सुविधा पुगेको सहरी क्षेत्रमा भने लामो समयसम्म निषेधाज्ञा जारी भएरपनि ती नगरपालिका र उपमहानगरपालिकाहरूमा कोरोनाको पहिलो र दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या र मृत्युदरमा खासै फरक देखिएको छैन । 

सीमावर्ती स्थानीय तहहरू गढी, बर्जु, देवानगञ्ज, हरिनगर र कोशी गाउँपालिकामा भने कोरोनाको सङ्क्रमण दर र मृत्युदर  कम छ । जहाँ उपचार सेवाको सुविधा, चिकित्सक, अक्सिजनजस्ता आधारभूत सुविधा कम छन् ।

सुनसरीका १२ स्थानीय तहमध्ये सीमावर्ती स्थानीय तहहरूमा कोरोना सङ्क्रमणको पहिलो लहरमा भन्दा दोस्रो लहरमा कम सङ्क्रमित र कम मृत्यु भएको तथ्याङ्क छ । तर धरान, इटहरी, इनरुवा, वराहक्षेत्र, रामधुनीजस्ता नगरक्षेत्रमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । तीमध्ये पनि धरान र इटहरीमा सबैभन्दा बढी सङ्क्रमित र मृत्यु भएको स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ । 

दोस्रो लहर नियन्त्रण गर्न सरकारले लामो समयसम्म निषेधाज्ञा जारी गरेको थियो । तर, पनि धरानमा दैनिक ६० देखि ९५ जना सङ्क्रमित देखिएका छन् । मृत्यु सङ्ख्या पहिलो लहरमाभन्दा दोस्रो लहरमा बढी देखिएको छ । धरानमा दैनिक २ देखि ३ जनाले कोरोनाबाट ज्यान गुमाउँदै छन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)ले निषेधाज्ञा खुकुलो बनाउँदै बिहीबारदेखि भने सबैखाले यातायात सञ्चालन गर्न दिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार जिल्लाको १२ पालिकामध्ये कोरोनाको दोस्रो लहरमा धरान उपमहानगरमा बिहीबारसम्ममा ८७ जनाको मृत्यु र ३ हजार ४ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनले जिल्लामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित धरान उपमहानगरपालिकामा देखिएको बताए । उनले भने, ‘धरानमा सङ्क्रमितको सङ्ख्या र मृत्युसङ्ख्या अन्य स्थानीय तहको तुलनामा उच्च छ ।’

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिका अनुसार पहिलो लहरको कोरोना सङ्क्रमणबाट धरानमा ३ हजार ७ सय ५४ जनामा सङ्क्रमित भएको र ६४ जनाको मृत्यु भएको थियो ।

कोरोनाको पहिलो र दोस्रो लहरको सङ्क्रमित र मृतकको सङ्ख्या जोड्ने हो भने धरान उपमहानगरपालिकामा मात्रै सङ्क्रमितको कुल सङ्ख्या ७ हजार २ सय २२ र मृतकको सङ्ख्या १ सय ५१ जना पुगेको छ । जिल्लाको अर्को उपमहानगर इटहरीमा कोरोनाको दोस्रो लहरमा ३ हजार ४ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

६५ जनाको मृत्यु भएको छ । पहिलो र दोस्रो लहर गरी इटहरीमा कुल सङ्क्रमितको सङ्ख्या ५ हजार ९ सय ५१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ सय १० पुगेको छ । निषेधाज्ञा खुकुलिएपछि झन् सङ्क्रमितको सङ्ख्या बढेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘धरान र इटहरीजस्ता उपमहानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ र मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ ।

यसबारे स्वास्थ्य मन्त्रालयसँग आन्तरिक छलफल गरिरहेका छौं ।’ उनले अस्पतालमा भर्ना हुनेको सङ्ख्या, कोरोना सङ्क्रमणको दर र मृत्यु दरबीच विश्लेषण गरेर के निर्णय गर्नुपर्ने हो, त्यो तत्काल गर्ने बताए ।

इनरुवा नगरपालिकामा कोरोनाको दोस्रो लहरमा १ हजार १ सय ११ जना सङ्क्रमित भए भने २५ जनाको ज्यान गयो । पहिलो लहरबाट ५ सय ४४ जनामा सङ्मण भएको र ११ जनाको मृत्यु भएको थियो ।

उता दुहबी नगरपालिकामा दोस्रो लहरमा ३ सय ९९ जनामा सङ्क्रमण र १० जनाको ज्यान गएको छ । दुहबीमा पहिलो लहरमा ४ सय ४४ जनामा सङ्क्रमण र १३ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिकामा दोस्रो लहरमा ४ सय ६० जनामा सङ्क्रमण र १० जनाको मृत्यु भएको छ । पहिलो लहरका सहित कुल सङ्क्रमितको सङ्ख्या ६ सय ९९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । सीमावर्र्ती स्थानीय तह गढी गाउँपालिकामा पहिलो र दोस्रो लहरमा गरी २ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ८ जनाको मृत्यु भएको छ ।

बर्जु, देवानगञ्ज, हरिनगर र कोशी गाउँपालिकामा अहिलेसम्म ४–४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । यी पाँचै गाउँपालिकासँग जोडिएको भारतीय सीमानाका खुला छ । गाउँमा शारीरिक कसरत बढी गर्ने र सहरमा कम कसरत गर्नेहरू बस्ने भएकाले पनि सङ्क्रमण र मृत्यु दरम फरक आएको हुनसक्ने केही सङ्क्रामक स्वास्थ्य विशेषज्ञहरूले बताएका छन् ।