प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई ३५ करोड बढी बजेट विनियोजन गरिएको छ । आगामी वर्ष खर्च गर्नेगरी जिल्लाका ८ स्थानीय तहका लागी  प्रदेश सरकारबाट ३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो ।

 बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि २३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि १२ करोड २७ लाख बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए ।

प्राप्त जानकारी अनुसार सोलु दुुधकुण्ड नगरपालिकालाई ५ करोड ८१ लाख, माप्य दुधकोशी गाउँपालिकालाई २ करोड १७ लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई २ करोड ७ लाख  र लिखुपिके गाउँपालिकालाई २ करोड २२ लाख विनियोजन भएको  छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई ९ करोड ६८ लाख,  नेचासल्यान गाउँपालिकालाई ६ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई २ करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई  ४ करोड ८२ लाख बजेट विनियोजन भएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए।

 जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताए ।