पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरको दुई पत्रकार र एक सञ्चार माध्यमलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
पत्रकार सम्मान, पुरस्कृत तथा लेखनवृती वितरण कार्यक्रमको आयोजना गरी शुक्रबार नगरका अग्रज पत्रकार अर्जुन जम्नेली राईलाई सम्मान, कुमार खड्का र कुरकुरे डटकम साप्ताहिकलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।
दुई दशक अघिदेखि पथरीशनिश्चरेमा रहेर निरन्तर पत्रकारिता गर्दै आएका अर्जुन जम्नेली राईलाई नगरपालिकाले ‘अग्रज पत्रकार सम्मान–२०७८’, द्धारा सम्मान गरेको हो । राईलाई राईकै मुहारचित्र सम्मान पत्र, दोसल्ला र नगद २० हजार सहित सम्मान दिएको थियो । त्यसैगरी प्राइम टेलिभिजनमा कार्यरत कुमार खड्कालाई नगरको उत्कृष्ट पत्रकारको रुपमा नगद १५ हजारले पुरस्कृत गरिएको छ । संञ्चार संस्थाको रुपमा एक दशक देखी निरन्तरुपमा प्रकाशित कुरकुरे डटकम साप्ताहिकलाई २५ हजार नगद सहित पुरस्कृत गरेको हो ।
कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट (बास्तोला) र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको हातबाट पुरस्कृत तथा सम्मान गरिएको थियो । गत बर्ष सञ्चार माध्यममा अनमोलमणी साप्ताहिक र उत्कृष्ट पत्रकारको रुपमा ब्लाष्ट टाइम्स दैनिकका दिनेश सुब्बालाई पुरस्कृत गरेको थियो । अग्रज पत्रकार सम्मान भने यसै बर्षदेखि नगद सहित प्रदान गर्न थालिएको हो ।
सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, प्रमुख प्रशाकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरको प्रवक्ता समेत रहेका २ नम्बर वडा अध्यक्ष यमप्रसाद गुरागाई, १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बू, ४ नम्बर अध्यक्ष गोबिन्दबहादुर भण्डारी, कार्यपालिका सदस्य भद्रमान बिकले सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा ३ नम्बरका वडा अध्यक्ष डम्बर चेम्जोङ, ७ नम्बरका कपिलमणी ढकाल लगायतको उपस्थिति रहेको थियो ।
पथरीशनिश्चरे नगरपालिकाले नगरको सञ्चार क्षेत्रको विकासको लागि २०७५ सालमा सूचना तथा सञ्चार कार्यविधि ल्याएर पत्रकारलाई सम्मान, पुरस्कार र नगरमा स्थापित सञ्चार माध्यमलाई बार्षिक रुपमा प्रोत्साहन स्वरुप रकम प्रदान गर्दै आएको हो ।
नगरपालिकाले पथरीशनिश्चरे नगरलाई मुख्य कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेपाल पत्रकार महासंघको सदस्यहरुलाई बार्षिक रुपमा लेखन वृति (फेलोसिप) प्रदान गर्दै आएको छ । यो बर्ष ब्लाष्ट टाइम्स दैनिकको पथरी समाचारदाता दिनेश सुब्बा, सिम्रिक एफ.एम.की एलिना दियाली, सम्मानित राई र पुरस्कृत खड्कालाई लेखन वृतिको प्रदान गरिएको नगर सूचना संयोजक भूपेन्द्र तिम्सिनाले बताए ।
नगरमा सञ्चालित सञ्चारमाध्यमहरुलाई बार्षिकरुपमा लोक कल्यार्णकारी विज्ञापन बापद रकम उपलब्ध गरउँदै आएको छ । नगरका एफएम रेडियोलाई ४२ हजार, साप्ताहिक पत्रिकालाई ३६ हजार र अनलाइनलाई ३० हजारको दरको बार्षिक रुपमा रकम उपलब्ध गर्दै आएको छ ।