विजयपुर। मोरङको कानेपोखरी गाउँपालिका–५ चिसाङ बस्तीकी एक दलित महिलालाई मोबाइलको सिमकार्ड चोरेको आरोपमा मानसिक सन्तुलन गुम्ने गरी कुटपिट गर्नेमध्येका दुई जना पक्राउ परेका छन् । 

शोभा दर्जी भनेर चिनिने डुक्का तामाङ दर्जीलाई चार जनाले कुटपिट गरेका थिए । त्यसमध्ये पुष्पा मगर र निरमाया मगरलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो । कुटपिटमा छिमेकीद्वयसहित बिन्दा मगर, बबिता मगर पनि संलग्न थिए ।

४ मध्ये २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए । इप्रका पथरीमा ४ जनाविरुद्ध जाहेरी परेको थियो । उनीहरूविरुद्ध ३ गते पीडितका बुबा हर्कबहादुर दर्जीले जाहेरी दिएका थिए ।

जाहेरी दिएको ५ दिनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू विरुद्ध जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐनअन्तर्गत जाहेरी दिइएको जनाइएको छ । २ जना पक्राउ गरेर अनसन्धान सुरु गरेको अन्य पनि चाँडै पक्राउ पर्ने डीएसपी खड्काले बताए ।

उनीहरूको कुटाइबाट शोभा मानसिक रूपमा विक्षिप्त बनेकी छन् । उनलाई विभिन्न अस्पतालमा उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि १७ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत छिन् । प्रतिष्ठानको मानसिक रोग विभागको युनिट–३ मा उपचार भइरहेको छ ।

१७ दिनदेखि उपचाररत भए पनि हालसम्म स्वास्थ्यमा सुधार नआएको पति कुमार तामाङले बताए । उनले भने, ‘अस्पतालका विज्ञ डाक्टरहरूको समूह उपचारमा लाग्नुभएको १७ दिन भइसक्यो, तर हालसम्म बीसको उन्नाइस भएको छैन ।’ २५ वर्षीया शोभालाई वैशाख ३० गते मानसिक सन्तुलन नै गुम्ने गरी विन्दा, बबिता, पुष्पा र निरमाया मगरले कुटपिट गरेको पति कुमारले बताए । शोभाको पेटमा २ महिनाको गर्भ पनि रहेको छ । 

उपचारमा आर्थिक सहयोग जुट्दै
प्रतिष्ठानमा उपचाररत शोभाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनको उपचारका लागि दलित महिला सञ्जाल धरानले १० हजार रुपैयाँ प्रदान गरेको छ ।

महिला सञ्जालको सक्रियता र दलित विकास समिति, दलित युवा सञ्जालको पहलमा आर्थिक सहयोग गरेको हो । उनीहरूले प्रतिष्ठानमै पुगेर पीडितकी आमा सीता दर्जीलाई रकम हस्तान्तरण गरेको सञ्जालकी अध्यक्ष शकुन्तला भुसाल (युनिसा) ले जानकारी दिइन् ।

आर्थिक अवस्था कमजोर भएकी शोभाको परिवारले साथमा भएको ८–१० हजार रुपैयाँ पनि अन्य अस्पतालमा उपचार गर्दा र धामीझाँक्री लगाउँदै सकिएको जनाएको छ । प्रतिष्ठानमा भर्ना गर्नका लागि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले १५ हजार रुपैयाँ दिएपछि उपचारको लागि प्रतिष्ठानमा ल्याइएको आमा सीताले बताइन् ।

यसरी भएको थियो घटना
७ वर्षीया छोरीले फोहोरमा फ्याँकेको मोबाइल लिएर आएपछि शोभाले उक्त मोमाबाइलमा भएको सिमकार्ड आफ्नो मोबाइलमा प्रयोग गरेकी थिइन् । मोबाइलमा लगाएलगत्तै फोन आएको परिवार बताउँछन् । फोन उठाएपछि उनीमाथि सिमकार्ड चोरेको आरोप लगाएको परिवारले जनाएको छ ।

‘मैले सिम चोरेको होइन, कसको रहेछ भनेर दिनका लागि मोबाइलमा हालेको थिएँ, तिमीहरूको रहेछ लैजाऊ । फोहोरमा भेटिएको मोबाइलको सिम दिँदा कसरी चोर भएँ’–शोभाले भनेकी थिइन् । त्यसपछि जहाँ भेट्दा पनि ‘दमिनी चोर्नी सिममा १५ सय रुपैयाँ थियो’ भन्दै गाली बेइजती गर्दै कुटपिट गरेको पीडितका पति कुमारले बताए ।