धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ को वडा कार्यालयमा स्थानीय वडावासीले ताला लगाएका छन् ।
चालु आर्थिक वर्षमा सङ्घीय संसद्मार्फत् उपलब्ध हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको २० लाख रुपैयाँ वडा कार्यालयले अर्को वडामा दिएको विरोधमा तालाबन्दी गरिएको स्थानीय चित्रदेवी थापाले बताइन् ।
सो बजेट छथर जोरपाटी गाउँपालिकाकै मेरुदण्डको रूपमा तमोर नदीस्थित त्रिवेणी धामसम्म पुग्ने सडकका लागि विनियोजन भए पनि वडा कार्यालयले निहीत स्वार्थ र कमिसन चलखेलमा विकास विरोधी काम गरेको अर्का स्थानीय ठगेन्द्रप्रसाद पराजुलीको भनाइ छ ।
सातांै पटकसम्म सिफारिसका लागि वडाध्यक्ष टेकबहादुर तामाङलाई भेट्दा वडाध्यक्षले सिफारिस नदिएको र हाल सो बजेट अर्को वडामा लगेको थाहा पाएपछि बाध्य भएर ताला लगाउनु परेको पराजुलीको भनाइ छ ।
समिति आफै बनाइदिनू भन्दा पनि वडाध्यक्षले पहल नगरेको तथा ठेक्काबाट काम गरौं भन्दा पनि काम नगरेको पराजुलीले थपे । वडा कार्यालयले पार्टीगत रूपमा मात्रै काम गरेको र पार्टीनिकटका मानिस उपभोक्ता समितिमा नभएको कारणले सिफारिस रोकेको स्थानीय मनमाया शिवभक्तिले बताइन् ।
उनले सो बजेट नपाएसम्म तालाबन्दी जारी रहने बताइन् । दम्भको आधारमा बजेट स्थानान्तरण गरिएको उनको आरोप छ ।
यता वडाध्यक्ष टेकबहादुर घिसिङ तामाङले तालाबन्दी किन र केका लागि गरेको भन्ने आफूलाई जानकारी नभएको बताए । गाउँपालिकाको नीति तथा कार्यक्रमका लागि वडाका सबै जनप्रतिनिधि र कर्मचारी वडा कार्यालय बन्द गरेर गाउँपालिकाको कार्यालय गएको बेला ताला लगाएकाले आफूहरू जानकारीविहीन रहेको उनको भनाइ छ ।
सडक निर्माणका लागि उपभोक्ता समिति बनाउन नदिएको र जहिल्यै असफल बनाउन खोजेपछि टोलबस्तीको नेतृत्वमा काम गरौँ भन्दा पनि विवाद निकालेपछि काम हुन नसकेको घिसिङले बताए । जे हुँदा पनि विवाद भएपछि विघटित प्रतिनिधिसभाका सङ्घीय सांसद् राजेन्द्रकुमार राईले अर्को वडामा लगेको उनको भनाइ छ ।
असन्तुष्ट पक्षसँग छलफलको माध्यमबाट समस्या समाधानको लागि वडा कार्यालय तयार रहेको वडाध्यक्ष घिसिङले बताएका छन् ।
स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाको टोलीले सोमबार बिहान १० बजे ताला तोडेको छ । ताला तोडेको भए पनि आफूहरूको माग पूरा नभएसम्म पुनः वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने स्थानीय मेघराज खतिवडाले बताएका छन् ।