बिर्तामोड। सरकारले तीन महिनाका लागि उत्खननमा प्रतिबन्ध लगाएको समयमा समेत बिरिङ नदी दोहन भएको भन्दै झापाको अर्जुनधाराका युवा आन्दोलित भएका छन् ।
उनीहरुले अर्जुनधारा नगरपालिका वडा न १ को कार्यालयमा नदी दोहन नियन्त्रण गर्नका लागि ध्यानाकर्षणपत्र बुझाएका छन् । नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई बोधार्थ दिइएको पत्रमा रातको समयमा गैरकानुनी रुपमा नदी दोहन भइरहेको उल्लेख छ ।
बिरिङ नदीमा ठुला–ठुला खाडल बनाएर खोलाजन्य सामग्री उत्खनन गरिएका कारणले नदी किनारामा रहेका खेतीमा सिंचाईको असुविधा भएको, १० फुटसम्मको गहिरो खाडलमा पानी जमेका कारण दुर्घटनाको जोखिम बढेको, खानेपानीको श्रोत सुक्न थालेको लगायतका समस्या उत्पन्न भएको पत्रमा उल्लेख छ ।
बन क्षेत्रभित्र रहेको नदीबाट उत्खनन भएकाले नियन्त्रणका लागि पहल गरिदिन सरोकारवालामा अनुरोध गरिएको छ । प्रहरी प्रशासनले उत्खनन भएको जानकारी पाएपनि नियन्त्रण तथा कारवाही नगरिएका कारण चोरी पैठारीमा संलग्नता भएको हुनसक्ने पत्रमा आशंका ब्यक्त गरिएको छ । प्रशासनले नदीजन्य सामग्रीको दोहन नियन्त्रण नगरे आफुहरु शसक्त प्रतिकारमा उत्रिने चेतावनी पनि पत्रमा दिइएको छ ।
सरकारले असार, साउन र भदौ महिनाका लागि देशभरका खोलानालाबाट नदीजन्य सामग्री उत्खननमा केही बर्षदेखि रोक लगाउँदै आएको छ ।