इटहरी। भव्य भवन, उल्लेख्य विद्यार्थी, कडा अनुशासन,  बाहिरबाट हेर्दा यो स्कुल गजब लाग्छ । तर, स्कुलको भित्री अनुहार भने राजनीतिक खिचातानीले थलिँदै गएको छ ।

सहिदका छोराछोरीलाई विशेष सुविधामा पढाउन खुलेको आवासीय सुविधासहित इटहरी–१९ को सहिद आवासीय माध्यमिक विद्यालय अहिले राजनीतिक खिचातानीले थलिँदै गएको हो ।  

स्थापनाकालदेखि नै माओवादीहरूको मात्र हालीमुहाली रहेको यो विद्यालय अहिले भने राजनीतिकै कारण धरासायी बन्न पुगेको हो । माओवादी र एमालेको एकता टुटेसँगै विद्यालयमा आरोप प्रत्यारोप सुरु भएको छ । जसका कारण विद्यालय धरासायी बन्दै गएको स्वयम् माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

नेकपा माओवादी (केन्द्र) का नेता हर्ताकर्ता रहने विद्यालय अहिले धरासायी हुँदै गएको स्थानीयवासी बताउँछन् । यस विद्यालयलाई सरकारले बर्सेनि करोडौं रुपैयाँ छुट्याउने गरेको छ । विद्यालयको भौतिक संरचना बाहिरबाट हेर्दा ठीकै देखिए पनि विद्यार्थीको पढाइ, खानपिन र बसोबासको अवस्था भने लथालिङ्ग रहेको भवानीपुरका स्थानीयवासी राजेन्द्र दुलाल बताउँछन् ।

तरहरामा रहेको सहिदस्मृति आवासीय उच्चमाविमा करिब ५ सय विद्यार्थी छन् । अधिकांश माओवादीसम्बद्ध पीडितका छोराछोरी छन् ।  माओवादी स्थानीय नेता, सांसद् र पहुँचवाला शिक्षकका छोराछोरीले यहाँ भर्ना पाएका छन् । यहाँ कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । तर, लामो समयदेखि तालाबन्दी गरेका कारण विद्यालय खुल्न सकेको छैन । 

सहिद आवासीय माध्यमिक विद्यालयका अध्यक्ष मणिराम गिरीले विद्यालयमा समस्या हुँदा असहज भएको बताए । एक विज्ञप्ति जारी गर्दै उनले विद्यार्थी एवम् विद्यालयको भविष्यमा असर परेको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी तालाबन्दी गर्ने र उक्साउनेले लिनुपर्ने बताएका हुन् । उनले विद्यालय धरासायी बनाउन नहुने भन्दै आफूहरूले विद्यालयको बारेमा सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताउँछन् ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम आफै तालाबन्दी गर्न लगाउने र उक्साउने काममा लागेको भन्दै विज्ञप्तिमै उल्लेख गरिएको छ । विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई बञ्चित गराउने जघन्य अपराधको भागीदार तालाबन्दी गराउने र तिनलाई सहयोग गर्ने सहयोगीहरू हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उपप्रमुख गौतम र शिक्षा महाशाखाको उपस्थितिमा तालाबन्दी गरिनु निन्दनीय कार्य भएको गिरीले बताएका छन् । सहिदहरूका सन्तान, दश वर्षे जनयुद्धमा बेपत्ता पारिएका घाइते, अपाङ्ग, द्वन्द्वपीडितका परिवारका सन्तान पढ्ने विद्यालयलाई राजनीतिक एवम् व्यक्तिगत स्वार्थको खेलमैदान बनाउन खोज्नु किमार्थ स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गिरीमाथि सहिद विद्यालयमा भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा (एमाले) ओली समूहको अनेरास्ववियुले तालाबन्दी गरेको छ । सङ्घर्ष समिति नै बनाएर एमाले निकट स्थानीयले आन्दोलन गरिरहेको बताए । यता शिक्षा महाशाखाको जिम्मेवारी पाएका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीलाई यसबारे बुझ्नका लागि फोन गर्दा स्वीचअफ रहेको पाइयो । 

यता गिरीसहितको व्यवस्थापन समितिले विद्यालयमा लामो समयदेखि अनियमितता गर्दै आएको भन्दै तालाबन्दी गरिएको जनाएको छ । विद्यालयमा लाखांै रुपैयाँ अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा इटहरी उपमहानगरपालिकामा उजुरी परेको छ ।

लामो समयदेखि विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अनेरास्ववियु सुनसरीले उजुरी गरेको थियो । केही समयअगाडि विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लीला काफ्लेको करार  नियतवश विद्यालय प्रशासनले नथपेको भन्दै विद्यालय विद्यार्थीहरू समेत असन्तुष्टि जनाएका थिए । प्रअ र लेखापालको पुनः नियुक्ति माग गर्दै विद्यार्थीहरूले समेत ताला लगाएका थिए । 

यता इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले भने विद्यालयको आरोप अस्वीकार गरिन् । विद्यालयले त्यस्तो आरोप लगाएको विषयमा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।

विद्यालयको समस्या समाधान गर्न बनेको कार्यदल समितिको संयोजकसमेत आफै भएको भन्दै विद्यालयलाई शिक्षक निष्कासन र अन्य विषयमा भएको विवादको लागि आवश्यक कागजात आफूले माग गरेको बताइन् ।

‘अनावश्यक आरोप लगाएर विद्यालय व्यवस्थापनपक्ष किन डराएको होला ?’–उनी भन्छिन् । विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने पक्षमा आफू रहेको उप्रमुख गौतमको भनाइ छ ।