धनकुटा। धनकुटा नगरपालिका वडा नं.३ का ५० घरपरिवारलाई खाद्यान्न लगायत दैनिक उपभोग्य समाग्रीहरु सहयोग गरिएको छ ।

धनपा वडा नं. ३ वडाध्यक्ष विकास घिमिरे सहित प्रवासमा रहेका सोही वडाका रोजागरीको शिलशिलामा प्रवासमा रहेको विभिन्न तहतप्का महानुभावहरुले खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीहरु सहयोग गरेका हुन् ।

वडाध्यक्ष घिमिरेको नेतृत्वमा सुरेश याक्सो हङकङ, कुमार श्रेष्ठ झापा, चित्र घिमिरे अष्ट्रलिया, रामचन्द्र घिमिरे अष्ट्रलिया, त्रिलोचन खतिवडा अमेरिकाबाट संकलित रकमले ५० घर अति विपन्न परिवारलाई चामल, दाल, तेल र नुन सहयोग गरिएको वडाध्यक्ष घिमिरेले ब्लाष्टलाई बताए ।

दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेकोमा  निशेधाज्ञाको कारणले काममा जान नपाएपछि खानेकुराको समस्या भैरहेको समयमा पाएको सहयोगले निकै राहत महशुस भएको स्थानीय कमला राईले बताइन् ।

कोभिडको कारण दैनिक काममा जान नपाएर खानको समस्या भएकालाई राहत वितरण गरिएको र अन्य त्यस्ता परिवारको खोजी गरेर राहत वितरण गरिने वडाध्यक्ष घिमिरेले बताएका छन् ।

कोरोना संक्रमणको अवस्था दैनिक जसो बढीरहेकाले प्रवासमा रहेर केही  सहयोग गरौं भनेर हालसम्म प्राप्त भएको रकमले खाद्यान्न लगायत दैनिक उपाभोग्य सामाग्री खरिद गरि वितरण गरिएको अमेरिकामा रहेका त्रिलोचन खतिवडाले अनलाईन मार्फत बताए ।

उनले आफूले विश्रान्ति वृद्धाश्रमलाई व्यक्तिगत २५ हजार सहयोग गर्ने योजनामा रहेको र धनकुटामा रहेका अग्रपंतिमा रहेर कोरोना नियन्त्रणमा खटिएका मानिसलाई केही दिनमै स्वास्थ्य सामग्री वितरण गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।

खतिवडाले अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले यसपछि संकलित रकमबाट पुन सहयोग गरिने जानकारी दिएका छन् ।