बेलबारी। विगत १५ वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर करिब एक महिना अघिदेखि आफ्नै घरमा साङ्लोले बाधिएर राखिएकी सुलोचना राजवंशीको उद्दार भएको छ । मंगलबारको ब्लाष्ट टाइम्स दैनिकमा फलामको साङ्लोमा बाधिएर बस्न बाध्य सुलोचना शिर्षकमा समाचार प्रकाशन भएपछि बुधबार सुलोचनाको उद्दार भएको हो ।

बेलबारी-९ स्थायी बसोबास गर्दै आएकी सुलोचना राजबंशी साङ्लोमा बाँधिएको खवर सुनेपछि उपमेयर ढाकाकुमारी पराजुली  वडा नं ९ का वडाध्यक्ष स्थानीय समाजसेवीहरु सहित नगरपालिकाको टीम उक्त स्थानमा पुगेर  बुधबार उनको उद्दार भएको हो ।

मानसिक रोगी भएकै कारण शलोचना घरमा परिवारसँग नबस्ने, गाउँ–गाउँ घुम्ने, खासै बोल्न नचाहने, बोलिहाल्दा पनि झर्केर बोल्ने, बालबालिकालाई कुटपिट गर्ने, अनावश्यक मानिसतिर झम्टने, औषधी नखाने समस्याका कारण परिवार आजित भएको उनका बुबा दरपदचन्द्र राजबंशीले बताए ।

घरको कमजोर आर्थिक अवस्था हुनुका साथै ७५ बर्षका बुवा दरपद राजबंशी रोजगार गर्न नसक्ने र आफू पनि बृद्ध अवस्था भएकोले आफ्नै स्याहार गर्न नसक्ने अवस्थामा जवान छोरीको स्याहार सुसार गर्न ज्यादै कठिन भएको सुलोचनाकी आमा दाखादेवी राजबंशीले बताइन् ।

एकातिर कमजोर आर्थिक अवस्था र अर्कोतिर आफ्नै नगरपालिकाभित्र युवती साङ्लोभित्र बाँधिएको खबरले आफूलाई असाध्यै दुःखी बनाएकोले मानसिक रोगबाट पीडित शोलोचनालाई उद्दार गरि तत्काल इटहरीस्थित मायाघरको संरक्षकत्वमा राखिएको उपमेयर पराजुलीले बताइन् ।