अव्यवस्थित, सुकुम्बासी र भूमिहीन दलित जनतालाई जग्गाको स्वामित्व दिने नेपाल सरकारको नीतिअनुसार पहिलो चरणमै सम्झौता गरी काम शुरु गरेको बेलका नगरपालिकामा भूमि व्यवस्थापनलाई लिएर जनतालाई भ्रम छर्ने काम भएको छ ।

जनतालाई जग्गा धनीपूर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुर्याएको बेलका नगरपालिकाले विद्युत विस्तार, सिंचाइको प्रवर्धन, वन्यजन्तु नियन्त्रणका लागि फेन्सिङ तार व्यवस्थापन, घेरा सुरक्षा गरेका विषयलाई अतिरञ्जित गरेको जनाएको छ । नगर प्रमुख दुर्गाकुमार थापाले जनतालाई भ्रमित गर्ने काम भइरहेको बताए । कपोकल्पित विषय उठान गरी जनतालाई हटाउने जस्ता नियोजित कुराकाहरु फैलाउने काम भएकाले यसको पछि नलाग्न अपिल गरेका छन् । 

बेलका नगरपालिकामा सुकुम्बासी बस्ती हटाउने र कबुलियत वन बनाउने भ्रम फैलाइएपछि स्थानीय नागरिक वडा कार्यालय घेराउ गर्न पुगेका छन् । यथार्थ नबुझी वडा कार्यालय घेराउ गरेपछि बेलका नगरपालिकाले विज्ञप्ति जारी गर्दै भ्रममा नपर्न नागरिकलाई अनुरोध गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै नगर प्रमुख थापाले बेलका नगरपालिका बेलकावासी जनताको पक्षमा सदैव जिम्मेवार रहेको बताएका छन् । नगरपालिकाले जनताको मौलिक अधिकार गाँस, बास र कपासको ग्यारेन्टी गर्ने लक्ष्यका साथ निरन्तर लागि परेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा बेलका १, २, ३, ८ र ९ को दक्षिणी सिमानामा रहेको समथरभूमिको सही सदुपयोग गरेर त्यस क्षेत्रलाई उत्पादनसँग जोडेर औद्योगीकरण गरी आर्थिक समृद्धि गर्ने अभियान रहेको स्पष्ट पारिएको छ । टप्पु समथर क्षेत्रको संरक्षण, विकास र सम्वर्धनका लागि उर्वर भूमिको सदुपयोग गरी कृषि उत्पादनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण योजना कार्यान्वयन गरिने विज्ञप्तिमा जनाइएको छ । 

‘विकासको सन्तुलनलाई अगाडि बढाई विद्युत विस्तार, सिंचाइको प्रवर्धन, वन्यजन्तु नियन्त्रणका लागि फेन्सिङ तरा व्यवस्थापन गरी तार घेरा गरी सुरक्षा गर्ने काम निरन्तर गर्दै आइरहको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यिनै कार्यलाई अतिरञ्जित गर्दैै जनता माझमा भ्रमित र कपोकल्पित विषय उठान गरी जनतालाई हटाउने जस्ता नियोजित कुराहरुको पछि नलाग्न हुन हार्दिक अपिल गर्दै यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ 

बेलका नगरपालिकाले विज्ञप्तिमार्फत् कबुलियती वन बनाउने बेलका नगरपालिकाको कुनै पनि योजना र निर्णय नभएको स्पष्ट पारेको छ । नगरले आगामी दिनमा पनि सो निर्णय नगराउने जनाएको छ ।

नगर प्रमुख दुर्गाकुमार थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ – जनतालाई जोतभोगको आधारमा जग्गा धनीपूर्जा वितरण गरी चाँडै नै बेलकावासी जनतालाई जग्गाको मालिक बनाउने प्रतिबद्धता गर्दै कुनै पनि भ्रमम नपरी आफ्नो भूमिको रक्षाको लागि बेलका नगरपालिकालाई सहयोग गर्नहुन अपिलसहित अनुरोध छ ।’

बेलका नगरपालिकाले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी भूमिहीन किसानलाई जग्गाको मालिक बनाउने अभियानलाई सार्थक बनाउन जग्गाको लगत संकलन गरी जग्गा नापी गरिसकेको छ । जनतालाई जग्गा धनीपूर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुर्याएको छ । 

belaka-bigyapti