प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको नीति कार्यक्रम सार्वजनिक गरेको छ । 

जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको नीति रहेको छ भने विपन्न वर्गको उपचारका लागि प्रदेशमा उपचार कोष स्थापना गर्ने नीति लिएको छ ।

बिहीबार प्रदेश १ सरकारका तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरे ।

मेची अस्पताललाई दुई सय शय्या र धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय शय्याको अस्पताल बनाइने छ । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रणपश्चात् प्रादेशिक प्रसूति तथा स्त्री रोग अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारको नीति छ ।

यसैगरी मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम नीतिमा समेटिएको छ । योजनामा विदेशबाट आएकाहरुको सीपको प्रयोग गर्दै स्वदेशमै उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।

मेरो कृषि मेरो पौरख अभियान सञ्चालन गर्ने प्रदेश सरकारको नीति छ । सरकारले बाँझो जमिनमा कृषि गर्नका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । भूमि बैंकको अवधारण कार्यान्वयनको योजना अघि सारेको सरकारले अर्गानिक कृषि अभियानमा जोड दिन आमा समूहलाई परिचालन गर्ने प्रदेशले नीति लिएको छ ।

स्थानीय तहसँगको सहभागितमा सिंचाइ पूर्वाधार र शीत भण्डारण सञ्चालन गर्ने लक्ष्य लिएको छ । बिउ तथा बेर्ना आपूर्तिका लागि प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति छ ।

ग्रामीण भेगमा रहेर सामाजिक रूपमा योगदान पु¥याएका आमाहरूको सम्मानका लागि राष्ट्रपति आमा सम्मान कार्यक्रम सञ्चालन गरिने भएको छ । सासुबुहारी सम्मान, ज्येष्ठ नागरिक तीर्थाटन, स्वास्थ्य उपचार र दन्त उपचार कार्यक्रम नीतिमा समेटिएको छ ।

माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षकशिक्षिकाद्वारा किशोरकिशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहहरूसँग समन्वय गर्ने सरकारको नीति छ । सबै माध्यमिक स्कुलहरूमा स्काउट गठन गर्ने नीति पनि लिएको छ ।

प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई प्राथमिकतामा राखिएको छ ।