यासोक/पाँचथरको कुम्मायक गाउँपालिका—२ माङ्जाबुङका गजेन्द्र शेर्माले कोरोना महामारीका बेला घरघरमै स्वास्थ्य सामाग्री वितरण गरेका छन् । 

वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा रहेका उनले वडावासीलाई घरघरमै स्वास्थ्य सामग्री दिएका हुन् । २ लाख १६ हजार रुपैयाँ बराबरको लगानीमा स्वास्थ्य चौकी माङ्जाबुङलाई ४३ केजी क्षमता बराबरको ६ वटा अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । 

त्यस्तै घरघरमा वितरण गर्नका लागि ८ हजार ५ सय माक्स, ८ सय ५० थान सेनिटाइजर वितरण गरेका छन् । वडा कार्यालयमा ८ सय १५ घरधुरीका ४ हजार जनसङ्ख्या रहेका छन् । 

भौगोलिक रूपमा दुर्गम क्षेत्र पर्ने उक्त क्षेत्रलाई अक्सिजन अभाव हुन नदिन र नागरिकलाई महामारीबाट बचाउन सामग्री सहयोग गरिएको गजेन्द्रका दाजु घनेन्द्रकुमार शेर्माले बताए । 

कर्मभूमि दक्षिण कोरियालाई बनाएर पनि जन्मभूमिका परिवार र समाजको हित चिताउँदा आफुहरुलाई खुसी लागेको स्थानीय जिवि याक्थुम्बाले बताए । वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री वडा सदस्यको रोहवरमा साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वायमसेविकामार्फत् वितरण गर्न थालिएको वडाध्यक्ष बालकृष्ण शेर्माले बताए । ‘हामीले वडामा प्राप्त भएको स्वास्थ्य सामाग्री स्वायमसेवीकाहरूलाई वितरणका लागि खटाएका छौं’ शेर्माले भने । 

नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ को समन्वयमा शेर्माले वडावासीलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।