धरान । निषेधाज्ञा जारी रहेकै बेला जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी चौकीमाथि आक्रमणमा संलग्न दुई मुख्य आरोपी धनकुटाको बञ्चरे क्षेत्रबाट पक्राउ परे ।

घटनाका मुख्य आरोपी भनिएका धरान १५ का ३२ वर्षीय रेगन लिम्बू र धरान ४ का ३० वर्षीय वसन्त राईले सोमबार राति जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसमर्पण गरेको बताए पनि उनीहरू बाध्य भएर प्रहरीसामु पुगेको अनुसन्धानमा खटिएका एक प्रहरी बताउँछन् । ‘अन्तिम विकल्प नभएपछि बाध्य भएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन्,’ इलाका प्रहरी कार्यालय धरानका कार्यबाहक प्रमुख इन्स्पेक्टर हेमराज वली भन्छन् । 

उनीहरू घटना घटाएपश्चात् भागेर केराबारी गाउँपालिकामा केही समय बसे पनि त्यहाँबाट पथरी पुगेको अनुसन्धानको क्रममा प्रहरीले पत्ता लगाएको थियो । प्रहरी पछ्याउँदै पुगेपछि त्यहाँबाट धनकुटाको कर्मीडाँडा पुगेका थिए । कर्मीडाँडा त्यही हो जहाँ रेगन लामो समयसम्म अध्ययन गरेका थिए । उक्त स्थानबारे ज्ञात भएका उनले सोही ठाउँलाई आफू सुरक्षित भएको महसुस गरे । तर, प्रहरीले पछ्याउँदै गरेको जानकारी पाएपश्चात् त्यहाँबाट धनकुटाको उत्तरपूर्वी गाउँ छथर पोखरी ४ बञ्चरे क्षेत्रमा गएर लुकेर बसे । बञ्चरेको अवस्थाबारे रेगन जानकार नै थिए । 

यसबीचमा उनीहरूले व्यक्तिगत मोबाइल फोन प्रयोग नगरेको प्रहरी बताउँछन् । व्यक्तिगत मोबाइल फोनमार्फत् ट्रेसिङ हुने डरका कारण उनीहरू जहाँजहाँ पुगे, त्यहाँका व्यक्तिको फोन प्रयोग गरेर घटनाबारे बुझ्दै थिए । प्रहरीले भाग्न सक्ने सम्भावित स्थान, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुरसम्मको ‘रेकी’ गरिरहेको थियो । 

घटनापश्चात् इलाका प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय धरान, प्रदेश १ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयको प्रहरीहरू सघन खोजीमा जुटेका थिए । पछ्याउँदै बञ्चरे पुगेको प्रहरीले सुरुमा ‘गाउँघरमा लुकेको’ सूचना प्राप्त गरेको थियो । त्यहाँ प्रहरीले छापा मार्दा फेला नपरेपश्चात् नै जंगलमा लुकेको भन्ने प्रमाणित गर्न सजिलो बनेको थियो । किनकि रेगनको सोही क्षेत्रमा आफन्त रहेकाले सुरक्षित हुने हिसाबमा त्यहाँ पुगेका थिए । 

तर, स्थिति फरक भएको पाएपछि प्रहरी जंगल क्षेत्रमा ‘सर्च’ गर्न थाल्यो । इन्स्पेक्टर वलीका अनुसार त्यहाँबाट जंगलैजंगल तेह्रथुमतिर लागेका थिए । तेह्रथुमतिर पनि खोजी भएपछि पुनः बञ्चरे क्षेत्रको जंगलमै आएर बसेका थिए । जंगलमा खाने प्रबन्ध नभएपछि बाध्य भएर उनीहरू प्रहरीसामु आत्मसमर्पण गरेका थिए । ‘जंगलमा कति दिन बस्ने, भोकभोकै भाग्नुपरेपछि बाध्य भएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन्, त्योभन्दा अर्को विकल्प पनि तिनीहरूसँग बाँकी थिइन’ उनले भने । अन्ततः प्रहरीले जेठ २४ गते उनीहरूलाई पक्राउ गरी छाड्यो । उनीहरूले अस्थायी प्रहरी चौकी तोडफोडका साथै त्यहाँका प्रमुख सुमन दाहालमाथि आक्रमण गरेका थिए । 

दाहालको दुवै हातमध्ये बायाँ हातमा गम्भीर चोट पुर्याएका थिए । जसको सल्यक्रिया गर्नुपरेको थियो । घटनामा १० जना संलग्न भए पनि पाँचजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्य पाँचजना फरार छन् । तर, चाँडै पक्राउ पर्ने इप्रका धरानका इन्स्पेक्टर वली बताउँछन् । ‘हाम्रो लक्ष्य मुख्य आरोपीहरूमा थियो, यिनीहरू पक्राउ परिसकेका छन्, अरू त पक्राउ परिहाल्छन्,’ उनले भने । घटनामा अन्य आरोपीलाई धरान ५ देउराली क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा धरान ५ कै २४ वर्षीय वीक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बूलाई पक्राउ गरिसकेको थियो । 

उनीहरूमाथि प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिसकेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ (१) अनुसार मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उक्त दफाको उपदफा २ अनुसार आरोप प्रमाणित भएमा १० वर्ष जेल र १ लाख रुपैयाँ जरिबाना हुने व्यवस्था छ । 

धरान ३ का विनोद राई र प्रसन्न लिम्बूमाथि आक्रमण गर्न पुगेका उनीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए । विनोद र प्रसन्नले आक्रमणकारीमा संलग्नमध्ये कोहीलाई २० हजार रुपैयाँ दिनुपर्ने विषयलाई लिएर घटना भएको बुझिएको छ । घटना हुनुभन्दा चार दिनअघि सोही प्रहरी चौकीमा छलफलसमेत भएको थियो ।