वराहक्षेत्र नगरपालिका वडा नं. २ र ७ को सीमामा पर्ने गहने खोलामा निर्माण गरिएको कल्भर्ट पुरेर खोला स्थानीयको नम्बरी जग्गामा फर्काइदिएपछि स्थानीय रुष्ट बनेका छन् ।

कलभर्ट पुरेर स्थानीयको धान खेतमा खोला हालिदिएपछि किसान असन्तुष्ट भएका हुन् । वराहक्षेत्र २ का वडाध्यक्ष हरिकृष्ण भट्टराईको  उपस्थितिमा निर्माण गरिएको समितिले कल्भर्ट पुरेर किसानको जग्गामा खोला लगाइदिएको कृषक जितबहादुर राईले बताए ।

गत वर्ष वर्षा आगाडि स्थानीय विद्यार्थीहरुलाई आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले नगरबाट विनियोजित झण्डै १५ लाखको लागतमा निर्माण गरिएको बाटो भत्काइएको छ । कल्भर्टबाट बग्ने गहने खोलालाई पनि डाइभर्ट गरी खेतीयोग्य जमिनमा लगाइएको स्थानीय शिक्षक फडिन्द्र दाहालले बताए ।

खेतीयोग्य जमिनमा खोला लगाइदिएपछि वर्षामा आउने बाढीले किसानको झण्डै १५–२० बिघा जग्गामा पस्ने शिक्षक दाहालले बताए । 

gahane_khola1

वराहक्षेत्र २ का जब्दी, मवेशी टोललगायतका क्षेत्रबाट चक्रघट्टीको वसन्तऋतु मावि, महेन्द्र मावि र सप्तकोशी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत आउजाउमा समस्या हुने शिक्षक दाहालले बताए । 

कल्भर्ट निर्माण गरेपछि गहने खोला स्थानीय कृषकका खेतमा पसेको निवेदनका आधारमा बाटो भत्काइएको र कल्भर्ट पुरिएको वडा नं. २ का अध्यक्ष हरिकृष्ण भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले किसानहरुलाई क्षति नपुग्ने गरी बाटो र कल्भर्टको व्यवस्थापन गर्ने बताए । 

वराहक्षेत्र ७ का वडाध्यक्ष वीरबहादुर लिम्बूले स्थानीय उपभोक्ताको निवेदनका आधारमा गहने खोलालाई उचित व्यवस्थापन गर्न मर्मत सम्भार गरिएको बताए । 

gahane_khola_2

वराहक्षेत्र नगरपालिकाको जेसिबी आएर बाटो भत्काउने र कल्भर्ट पुर्ने काम गरेको स्थानीय चन्द्र राईले बताए । स्थानीयले विरोध गर्दा पनि जेसिबीले जबरजस्ती भत्काएको उनको आरोप छ । 

कृषक राईले आफू सरोकारवाला र जग्गाधनी भएपनि बाटो र कल्भर्ट निर्माण गर्दा जानकारी नदिएको र अहिले भत्काउँदा पनि थाहा नदिएको गुनासो गरे । 

तस्बिरः हिमाल राई /वराहक्षेत्र