झापा /झापाको कनकाई नगरपालिकाले करिब दुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।  

नगरले शनिबार १४ औं गणतन्त्र दिवसको अवसरमा पत्रकार सम्मेलन गर्दै ५० वटा सिलिन्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको जनाएको छ । संघ तथा प्रदेश सरकारले कोभिड संक्रमित बिरामीका लागि आइसोलेशन तथा उपचार गर्ने भनिए तापनि त्यसको उचित व्यवस्थापन नभएको नगर प्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारी दिए । नगर प्रमुख पोखरेलले ३ वर्षको पारिश्रमिकबापतको १० लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणका लागि प्रदान गरेका छन् । उनले सोही कार्यक्रममा उपप्रमुख मञ्जु दाहाल प्रसाईंलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।  

स्थानीयस्तर तथा देश विदेशमा रहेकाबाट एक करोड संकलन हुने नगर प्रमुख पोखरेलले बताए । त्यस्तै नगरबाट ६० लाखभन्दा बढी रकम निकासा गरिने र अन्य सहयोगी दाताहरूबाट संकलन गरी अक्सिजन प्लान्ट ३ महिनाभित्र सञ्चालन गरिने उनले बताए । 

‘कोरोना महामारी अझै प्रकोपको रूपमा फैलिने विश्लेषण वैज्ञानिक तथा चिकित्सकहरूको अनुमान छ’ नगर प्रमुख पोखरेलले भने ‘यस महामारी तथा अन्य विपद्का लागि समेत अक्सिजन प्लान्ट राख्नु अनिवार्य भएको छ ।’ 

नगरमा रहेको प्रथामिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई प्रस्तावित कनकाई नगर अस्पताल निर्माण गरिने नगर प्रमुख पोखरेलले बताए । हाल नगर अस्पतालमा ५ सयभन्दा बढी बिरामी परीक्षणका लागि आउने गरेको उनले बताए । ‘अक्सिजनको अभावले धेरैले ज्यान गुमाइरहेका छन्’ उनले भने, ‘कनकाई नगरमा संघीय तथा प्रदेश सरकार साथै विभिन्न सहयोगीहरूकोे सहयोगमा अक्सिजनको अभाव हुन दिएका छैनौ ।’ उनले आवश्यकताको आधारमा घरघरमा अक्सिजन पुर्याइरहेको समेत बताए । 

नगरमा हालसम्म १३ जनाले कोरोनाबाट ज्यान गुमाएको नगर उपप्रमुख प्रसाईले जानकारी दिइन् । प्रदेश १ मा स्थानीय तह स्तरमा उदयपुरको बेलका नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरेको छ । अक्सिजन प्लान्टका लागि बेलका नगरपालिकाका प्रमुख दुर्गाबहादुर थापा स्वस्तीकको संयोजकत्वमा समिति पनि बनेको थियो । हाल रकम संकलन गरिसकेकाले निर्माणको चरणमा रहेको छ ।