धरान । युवा व्यवसायी सन्तोष विकले धरान–११ को पृथ्वी चौक बस्ने शारीरिक अपाङ्ग भएका वसन्ती भुजेललाई एक थान ह्वील चेयर दिएका छन् ।
करिब दस वर्षअगाडिदेखि उनी अपाङ्ग जीवन बिताइरहेकी थिइन् । वसन्तीका श्रीमान् गरराज भुजेलले ह्वील चेयर पाएकोमा खुसी हुँदै भने, ‘दस वर्षदेखि कोठामै लडिराख्ने मेरो श्रीमतीलाई अब बाहिर पनि डुलाउन सक्छु ।’
ह्वील चेयर दिने क्रममा व्यवसायी सन्तोष विकले भने, ‘वसन्ती भुजेलको बारेमा थाहा पाएकोले मानवीय हिसाबले सहयोग गरेको हुँ ।’ वसन्तीका परिवारका अनुसार करिब दस वर्षअघि एक्कासी देब्रे हात झट्कार्न थालेपछिदेखि बिमारी भएका उनी अहिले अपाङ्ग भएको बताए । दस वर्षअघिको घटना सम्झँदै गरराज भुजेलले भने, ‘बीपी अस्पतालले डेढ लाख चाहिन्छ भन्यो मसँग दस हजारमात्र थियो । त्यतिकै घर फर्काएँ, अहिले यस्तो भयो ।’
धरान–११ को सुकुम्बासी बस्ती रहेको पृथ्वी चोकमा भाडामा बस्दै आएका उनीहरूले ह्वील चेयर पाउनु ठूलो राहत भएको स्थानीयवासीले बताए । व्यवसायी सन्तोष विकले धरानका विभिन्न स्थलहरूमा समाजिक सेवा गर्दै आइरहेका छन् ।































