सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) ले आगामी २५ वर्षे गन्तव्यको मार्गचित्र तयार गरेको छ । 

विसं २०५२ साल जेठ १८ गते स्थापना भएको फेकोफनले विगत २५ वर्षका सिकाइलाई आधार मान्दै आगामी २५ वर्षका लागि महासंघको नयाँ गन्तव्यसहितको मार्गचित्र तयार गरेको जनाएको छ ।

फेकोफनको २६औँ स्थापना दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मलेनमा अध्यक्ष भारती पाठकले मार्गचित्रअन्तर्गत सामुदायिक वनमा उपभोक्ता समूहको अधिकार सुरक्षित गर्दै थप सशक्त बनाउन निरन्तर पैरवी अभियान सञ्चालन गर्ने र तथ्य प्रमाणमा आधारित पैरवी अभियानका लागि ज्ञान निर्माणमा सुदृढीकरण गर्ने जानकारी दिइन् । 

त्यस्तै सबैखाले नागरिक तथा सामाजिक अभियानप्रति ऐक्यबद्धता गर्ने कार्यमा निरन्तरता दिने, वन तथा प्राकृतिक स्रोतसँग सम्बन्धित प्रशासनयन्त्रमा लोकतान्त्रिकरण स्थापित गराउनमा सहयोग गर्ने, सामुदायिक वनसम्बन्धी ज्ञानलाई संगठित र सुदृढीकरणका लागि सामुुदायिक वन स्रोत केन्द्रको सबलीकरण गर्ने मार्गचित्रमा उल्लेख छ ।

सामुदायिक वनबाट सिर्जना हुनसक्ने आर्थिक संभाव्यताको विस्तृतीकरण गर्ने, दिगो वन व्यवस्थापन पद्धतिको अभ्यास अपनाउन जोड दिने, वन तथा कृषिलाई एकीकृतरूपमा व्यवस्थापन गर्ने प्रणालीको प्रवद्र्धन गर्ने, आत्मनिर्भरता र दिगो विकासका सैद्धान्तिक अवधारणा अपनाउनेलगायत कार्यक्रम मार्गचित्रमा रहेको अध्यक्ष पाठकले जानकारी दिइन् । 

हाल देशभर रहेका २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएका छन् । त्यसमा २९ लाख सात हजार ८७१ घरधुरी संलग्न छन् ।

फेकोफनले स्थापनाको २५ वर्षमा तराईका जिल्लाहरुमा रहेको सालको वनमा हुन लागेको विदेशी निजी कम्पनीहरूको हस्तक्षेप रोकी सामुदायिक वन अभियान सञ्चालन गरेको, सामुदायिक वनलाई स्थानीय समुदायको जीवनको अभिन्न अङ्गका रूपमा स्थापित गर्न सफल भएको जनाएको छ । 

त्यस्तै वनसम्बन्धी कानूनहरुमा सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चितताका लागि विभिन्न वकालतका कार्यहरु गरी सामुदायिक वन अधिकारको सुनिश्चितता गरेकोलगायतका उपलब्धि हासिल भएको अध्यक्ष पाठकले जानकारी दिइन् । 

 

फेकोफनले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गर्न र सामुदायिक वनको काठलगायतका वन पैदावारमा हुँदै आएको केन्द्रिकृत हस्तक्षेप कम गर्न सफल भएको, सामुदायिक वनका माध्यमबाट जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका साथै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सामुदायिक वनको आर्थिक तथा अन्य स्रोत साधन परिचालन गरिादै आएको जनाएको छ । 

महासंघले सामुदायिक वन उपभोक्ता समूहमा सुशासन, लैंगिक समानता, समाजिक रूपमा समानुपातिक समावेशीकरण र सामाजिक आर्थिक न्याय स्थापनाका लागि क्षमता विकास र सामाजिक अभियानहरु पनि सञ्चालन गर्दै आएको छ ।