इनरुवा। सुनसरीमा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार जिल्लाको हकमा जेठ २२ गते मध्यरात सम्म निषेधाज्ञा कायम गरिएको छ ।

यसअघि जारीे निषेधाज्ञाको अवधि जेठ १५ गते मध्यरातमा सकिदैछ । डीसीसीएमसीको बैठकले सोही मितिबाट निरन्तरता दिने गरी एक साताको अवधि थप गर्ने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार थपिएको निषेधाज्ञाको अवधिमा यस अघिका निर्णय स्वतः लागु रहने छन् । त्यसका अलावा सरकारद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको प्रावधान अनुरुपको व्यवस्था थप हुने ढकालले बताए ।    

अध्यादेशले निषेधाज्ञा कार्यान्वयनमा बाधा पु¥याए एक वर्ष र उल्लंघन गरे मात्र पनि ६ महिना कैद हुने व्यवस्था गरेको छ ।

आदेश नमान्ने व्यक्तिको हकमा प्रजिअले सिधै एक लाख र संस्थालाई पाँच लाख जरिवाना गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरेको छ । प्रजिअ ढकालले सोही अनुरुप हुने बताएको छ ।  

त्यसका साथै सुरक्षाकर्मीले मास्क नलगाउने, अटेर गरी हिंड्नेको हकमा पटकै पिच्छे जरिवाना लगाउन सक्ने प्रावधान समेत अध्यादेशमा उल्लेख छ ।

जसअनुसार अब मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय जरिवाना हुनेछ । आवागमनमा रोक लगाइएको अवस्थामा अटेर गरे पटकै पिच्छे दुई सय जरिवाना तोकिएको छ ।

त्यसैगरी रोक लगाइएको अवस्थामा अत्यावश्यक (अनुमती वा जानकारी) वाहेक सवारीसाधन चलाएको पाइए दुई पांग्रेको हकमा दुई हजार र अन्यको हकमा पाँच हजार जरिवाना हुनेछ । सुनसरी प्रशासनले थपिएको अवधिमा सोही अनुरुपको कडाइ गर्न निर्देशन दिइएको समेत जनाएको छ ।

प्रशासनमा बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञाकै कारण चहलपहलमा आएको कमीले गर्दा जिल्लामा कोरोना फैलने क्रम रोकिएको निष्कर्शसमेत निकालेको छ ।