धरान चतरा सडकको पटनाली खण्डमा मंगलबार टिपर दुर्घटना भयो । स्थानीयले दिएको जानकारी अनुसार रातको समयमा सडकबाट टिपर तल खसेको थियो ।  

धरान चतरा सडक ठाउँठाउँमा कालोपत्रे गरिएपनि त्यसको मर्मत सम्भार नहुँदा दिनप्रतिदिन सडक जीर्ण बन्दै गएको स्थानीयले गुनासो गरेका छन् । 

पटनालीस्थित हरिण खोलाले कालोपत्रे सडक कटान गर्दै लान थालेको छ । खोलाले सडक कटान गरेका कारण रातको अवस्थामा टिपर दुर्घटना हुन पुगेको स्थानीयले बताएका छन् ।

स्थानीय ठेक्का लागेको खोलाबाट नदीजन्य सामग्री उठाउने काममा प्रयोग भएको प्रदेश २ ०३ ००१ख ०२९६ नम्बरको टिपर दुर्घटना भएको अवस्थामा फेला परेको छ ।

टिपरलाई आवश्यक उपकरण ल्याएर निकालिने स्थानीयले बताएका छन् । जीर्ण सडकलाई तत्काल मर्मत सम्भार नगरे ठूलो दुर्घटना हुन सक्नेबारे पटनालीवासीले सरोकारवालालाई सचेत गराएका छन् । 

हरिण खोलाको तत्काल तटबन्ध गर्न  समेत स्थानीयले माग गरेका छन् ।