सप्तकोशी नदीको माथिल्लो तटीय क्षेत्रमा पश्चिमतर्फ कटान तीव्र रुपमा हुन थालेको छ । 

चतराघाटस्थित कोशी नदी पुलको पश्चिमतर्फ उदयपुर जिल्लाको बेलका नगरपालिका ८ मा पर्ने तटीय क्षेत्र तीव्र रुपमा कटान हुन थालेको हो । 

विगत ४ वर्षदेखि कटान लाग्न थाले पनि गत वर्षदेखि अत्यधिक कटान लागेको स्थानीय बताउँछन् । नदीले स्वरुप परिवर्तन गर्दै पश्चिमतर्फ ठाडो कटान लाग्न थालेपछि वर्षा अगावै स्थानीय त्रसित भएका छन् । 

नदीले कोठु, चम्पापुर, मेखबारी, सोमबारेलगायतका तटीय क्षेत्रको खेतीयोग्य जमिनमा कटान लागेको छ । 

Koshi_Katan_4

सुनसरी मोरङ सिचाइ योजनाको नहरमा ०५१ सालमा न्युइन्टेक निर्माण भएपछि पानी ‘डाइभर्ट’ गर्न बाँधिएका बाँधका कारण नदी पश्चिमतर्फ बग्न थालेको र कटान सुरु भएको स्थानीय बताउँछन् । 

न्युइन्टेकमा पानी कम भएपछि सिचाइ योजनाले समयसमयमा लगाएका स्परका कारण नदी पश्चिमतर्फ सर्दै गइरहेको स्थानीय युवा समाजसेवी तथा नेप्से क्लबका अध्यक्ष सुशान्त राईको भनाइ छ ।

यो वर्षमात्रै ८–१० कट्ठा खेती योग्य जमिन कोशीले कटान गरिसकेको अध्यक्ष राईले बताए । नदीमा बाँधिएका ७ वटा तारजाली सबै बगाएर लगेको उनको भनाइ छ ।

कोशीमा तटबन्ध निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग, कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना, सुनसरी मोरङ सिचाइ योजना लगायतका सरोकार राख्ने निकायमा डेलिकेशन जाँदा समेत बाँध नियन्त्रणमा उदासिन रहेको अध्यक्ष राईको भनाइ छ ।

Koshi_Katan_3

उनले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई २ पटक, कानुन मन्त्री हिक्मत कार्कीलाईसमेत ज्ञापन–पत्र बुझाएको बताए । 

‘चार वर्षदेखि कटान भइरहेको छ, बाँध निर्माणका लागि धेरै ठाउँमा डेलिकेशन गयौं, तर अहिलेसम्म बाँध निर्माण हुन सकेको छैन,’ अध्यक्ष राईले भने, ‘यो वर्षामा पनि कोशी नियन्त्रण हुन सकेन भने, बस्तीमै कोशी पस्ला भन्ने डर छ ।’

बेलका नगरपालिकाले आफ्नो निजी स्रोतमा नदी नियन्त्रण गर्न नसकेको बताउँदै आएको छ । नगर प्रमुख दुर्गाकुमार थापाले नदीको कटानको आफूले प्रत्यक्ष अनुगमन गरेको बताए । उनले प्रदेश सरकारलगायत नदी नियन्त्रणका सरोकारवालासँग नदीको समस्याबारे जानकारी गराएको बताए । कोशी नदीको अवस्थाबारे बेलका नगरपालिकासहित कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाबाट समेत अनुगमन गरिसकिएको छ । तर, ठोस पहल भने हुन सकेको छैन ।

Koshi_Katan_2

वर्षामा उच्च जोखिममा वराहक्षेत्र र बेलका

सप्तकोशी नदीको बहाब गाउँतिर सोझिएपछि सुनसरीको वराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिका वर्षेनी उच्च जोखिममा रहँदै आएका छन् । 

बाढी गाउँ पस्ला भन्ने त्रासले स्थानीय चिन्तित हुने गरेका छन् । स्थानीयको यो वर्षेनीको समस्या हो । कोशी सम्झौता अनुसार भारत सरकारले नदीको दुवै तर्फ तटबन्ध नबनाएका कारण वर्षेनी स्थानीय बाढी र डुबानको समस्याबाट गुज्रने गरेका छन् । 

बेलका ८ का स्थानीय गणेश राई कोशी नदीले पश्चिमतिर चेप्दै लगेको बताउँछन् । उत्तर दक्षिण बग्ने नदी पूर्वपश्चिम फर्किएर ठाडो परेको बताउँछन् । वर्षा सुरु नभई गाउँलेमा त्रास उत्पन्न भएको उनको भनाइ छ । कोशी पुल क्षेत्रमा कटान बढेपछि स्थानीय चिन्तित छन् ।  

वराहक्षेत्र ६ र ९ साथै बेलका नगरपालिका ३ मा पर्ने चिलिया टप्पु, श्रीलंका टप्पु, सिसौली टप्पु, एबिसी टप्पु, रामनगर, बोची, एकता टोल, सिर्जना टोल, गिनेरी टोल, बुधबारे, क्रान्ति टोल, बानडाँडा, भागलपुर र कोशी टप्पु आरक्षसमेत कोशी नदीको उच्च जोखिममा रहँदै  आएका छन् ।

Koshi_Katan_1