सेहरा र सेउती खोलामा अनियमित तरिकाले नदीजन्य सामग्री उत्खनन् भएको स्थानीयले आरोप लगाउँदै आएका छन् । उत्खनन्का सामान्य मापदण्डसमेत पूरा नगरी खोला दोहन भइरहेको खबर स्थानीयले ब्लाष्टलाई गरेपछि ब्लाष्टखबरको टिम ‘फिल्ड’मा पुग्यो ।

धरान पानवारीमा पर्ने सेउती खोलामा पाँच वटा स्काभेटर प्रयोग गरी दर्जनौंको संख्यामा टिपर र सोही संख्यामा ट्याक्टरहरु खोलामा देखिन्थे । मेसिन निस्फिक्री खोला खनिरहेका थिए । मजदुर उसैगरी नदीजन्य सामग्री लोड गरिरहेका थिए । 

केही दिन अघिदेखि खोला उत्खनन्मा विवाद भइरहेको थियो । अनियमित तरिकाले खोला उत्खनन् गर्दा धरान ५ को सुन्दर बस्ती, सितल बस्ती, सुनगाभा बस्ती, अँधेरी खोला र गैरी टोललगायतका बस्ती जोखिममा परेको स्थानीयले बताउँदै आएका थिए । तत्काल तटबन्धन गरेर मात्रै खोलामा उत्खनन गर्नुपर्ने स्थानीयले माग राखेपछि वडा समितिले निर्णय समेत गरिदिएको थियो । 

seuti_khola_3

तर निर्णय र शर्तविपरीत खोला उत्खनन् हुन थालेपछि स्थानीयले विरोध गरेका थिए । विरोधपछि धरान उपमहानगरपालिकाका मेयर र उपमेयर नगर प्रहरी लिएर खोला उत्खनन्मा आफैं लागे । स्थानीय सरकारले खोला ठेक्का लगाएपछि ठेकेदारले उत्खनन् गर्न पाउनु पर्ने उनीहरुको भनाइ थियो । तर वडा समिति र स्थानीयको निर्णय भने शर्त पालना गर्नुपर्ने थियो । नगर प्रमुखले नगर प्रहरी लगाएर खोला उत्खनन् गर्न सहजीकरण गरेपछि आक्रोशित स्थानीयले शर्त पूरा नगरी खोला उत्खनन् गर्न नदिने बताउँदै आएका छन् । 

‘आज सेउती र सेहरा खोलामा झडप हुँदैछ’ ब्लाष्ट खबरलाई स्थानीय स्रोतले खोला विवादबारे समाचार संकलनका लागि सोही आशय व्यक्त गरी आग्रह गरेपछि टिम फिल्डमा पुग्यो । 

मापदण्डअनुसार खोला उत्खनन् कतै भएको पाइँदैन । खोला ठेक्कामा आर्थिक चलखेल र अनियमितताका समाचार बारम्बार आउने गरेका छन् ।  

ब्लाष्टखबरको टिम धरान पानवारीमा पर्ने सेउती खोलामा पुग्दा पाँच वटा स्काभेटर प्रयोग गरी खोला उत्खनन् भइरहेको थियो । दर्जनौंको संख्यामा टिपर र सोही संख्यामा ट्याक्टरहरु खोलामा देखिन्थे । मेसिन निस्फिक्री खोला खनिरहेका थिए । मजदुर उसै गरी नदीजन्य सामग्री लोड गरिरहेका देखिन्थे । 

seuti_khola_4

‘ब्लाष्ट टिम’ खोलामा पुगेको झण्डै १५ मिनेटपछि पर रातो स्कारपियो धुलो उडाउँदै अघिअघि आइरहेको थियो । पछि झण्डै ३०– ४० वटा बुलेट लगायतका मोटरसाइकलले धुलो उडाइरहेका थिए । र, खोलातर्फ आउँदै थिए । ‘इन्ट्री’ फिल्मी शैलीको देखिन्थ्यो । केही युवा अघि नै खोलामा आइसकेका थिए । सयौंको संख्यामा आएका युवाहरुले धमाधम खोलामा प्रयोग भएका मेसिन बन्द गराउन थाले । लोड भएका नदीजन्य सामग्री अनलोड गराउन थाले । 

यो फिल्मी शैलीको इन्ट्रीमा धरानका चिनिएका व्यवसायी पर्वत राई, कहलिएका युवा सन्तोष विक, धरान– १८ का वडाध्यक्ष प्रवीण राई, धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बू, नेपाली कांग्रेसका नेतालगायत थिए । 

धरानस्थित सेउती खोला र सेहरा खोला उत्खनन्मा प्रयोग गरिएको  स्काभेटर, टिपर, ट्याक्टरलगायतलाई वडाध्यक्षको अगुवाईमा पुगेको टोलीले  खोलाबाट लखेटेको छ । 

आधारभूत मापदण्ड पूरा नगरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिएपछि, स्थानीयले राखेका सात बुँदे शर्तको पालनासमेत नगरी खोला दोहन गरिएपछि वडाध्यक्षको टोलीले नदीजन्य स्रोत उत्खनन्मा प्रयोग भएका मेसिनलाई खोलाबाहिर पठाइदिएको हो । seuti_khola_2

लोड गरिएको नदीजन्य सामग्री अनलोड गर्न लगाई धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बूको अगुवाईमा झण्डै सय जनाको संख्यामा पुगेका युवाहरुले मेसिन खोलाबाट निकाल्न लगाएको हो ।

‘माल तुरुन्त अनलोड गर्नुहोस्, नत्र जे पनि हुनसक्छ, तोडफोड भयो भने आफैं जिम्मा लिनू होला’ खोला पुगेका युवाले फिल्मी शैलीमा चुनौती दिएपछि टिपर चालकहरुले सामग्री अनलोड गरेका थिए । 

धरान ५ का सुकुम्बासी बस्तीलाई सेउती खोलाले बढी प्रभावित पार्ने र वर्षायामको समयमा खोलाले बस्ती बगाउने जोखिम भएपछि वडाध्यक्ष सन्तोष लिम्बूको अध्यक्षतामा बैठक बसी खोलाको जोखिम कम गरेर मात्रै खोला ठेक्का लगाउने निर्णय गरेको थियो ।

तर धरान उपमहानगरपालिकाले वडालाई समेत थाहै नदिई खोला ठेक्का लगाएर उत्खनन् गर्न थालेपछि वडाध्यक्षसहित नेपाली कांग्रेसका नेताहरु रुष्ट देखिएका छन् । 

मंगलबार पनि कांग्रेसका महासमिति सदस्य पर्वत राई, १ नं. वडाका वडाध्यक्ष रोशन अधिकारी, १८ नं. वडाध्यक्ष प्रवीण राई, ५ नं. वडाध्यक्ष सन्तोष लिम्बूलगायतले खोला उत्खनन् तत्काल रोक्न माग गर्दै धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र सेक्टर वन कार्यालय धरानमा ज्ञापन–पत्र बुझाएका थिए ।

seuti_khola_1

यता आज पनि वडाध्यक्ष लिम्बूको टोली खोला उत्खनन् कार्य रोकेर खोलाबाट फर्किएपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरीको सहयोगमा खोला उत्खनन् कार्य जारी राखिएको छ । सुरक्षाका लागि खोलामा प्रहरी तैनाथ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

पानवारी सामुदायिक वनभित्र पर्ने खोलाक्षेत्र उत्खनन् गर्दा सामुदायिक वनले समेत पत्तो नपाएको अध्यक्ष दुर्गा शिवाकोटीले बताए । ‘माथिबाटै सेटिङ मिलाएर आएको हुन्छ’ अध्यक्ष शिवाकोटीले भने । सामुदायिक वनसमेत सरोकारवाला पक्ष भए पनि जानकारी नगराएको अध्यक्ष शिवाकोटीको  भनाइ छ । 

उत्खनन्को ठेक्का इटहरीको पाथीभरा निर्माण सेवा कम्पनीले पाएको छ । कम्पनीले खोलामा ५ वटा स्काभेटर र दर्जनौं टिपर र ट्याक्टर प्रयोग गरी उत्खनन् गरिरहेको छ ।

(समाचारमा प्रयोग भएका स्रोत र प्रमाण सुरक्षित राखिएको छ ।)