इनरुवा। संक्रमण फैलनबाट रोक्न मद्यत पुगेको निष्कर्शमा पुगेको सुनसरी प्रशासन जारी निषेधाज्ञा लमब्याउने तयारीमा छ ।

डीसीसीएमसीका प्रमुखसमेत रहनु भएका सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल संक्रमण फैलनबाट रोक्न निषेधाज्ञाको अवधि अझै केहि समय थप्नु पर्ने देखिएको बताए । प्रजिअ ढकालले सो बारे आवश्यक निर्णय भने डीसीसीएमसीको बैठकले लिने बताए ।

प्रजिअ ढकालको बुझाईमा सुनसरीमा बेलैमा निषेधाज्ञा जारी गरिएको र आवश्यक्ता अनुसार कडाई गर्दै लगिएकाले संक्रमण तिव्र गतिमा फैलनबाट रोकिएको छ । चेन ब्रेकको काममा निषेधाज्ञा महत्वपूर्ण कडी बनेको प्रजिअको भनाई छ ।  

ढकाल भने, “संक्रमण फैलन बाट रोक्ने उपाय भनेको मुभमेन्ट शून्य बनाउनु नै हो । त्यसैले पूर्ण निषेधाज्ञाको अवधि बढाउनु आवश्यक छ ।”

प्रजिअ ढकालले अब थप हुने निषेधाज्ञा कोरोना कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा जारी अध्यादेशको प्रावधान बमोजिम हुने जानकारी दिए ।

जारी अध्यादेशले निषेधाज्ञा कार्यान्वयनमा बाधा पु¥याए एक वर्ष र उल्लंघन गरे मात्र पनि ६ महिना कैद हुने व्यवस्था गरेको छ । आदेश नमान्ने व्यक्तिलाई सिडिओले सिधै एक लाख र संस्थालाई पाँच लाख जरिवाना गर्न सक्ने अधिकार सुम्पेकाले सोही अनुरुप हुने ढकालले बताए ।

सुनसरी, मोरङ र झापाले छिमेकी जिल्लाको हकमा एक अर्काे सँग सहकार्य गरी आवश्यक निर्णय लिने गरेका छन् । मोरङले निषेधाज्ञाको अवधि बढाएको छ । झापाले समेत जारी निषेधाज्ञाको अवधि थप्ने बुझिएकाले संक्रमण फैलनबाट रोक्न सुनसरीमा समेत निषेधाज्ञा थप गर्ने तयारीमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

सुनसरीको हकमा सक्रिय संक्रमितको संख्या ५ सय नपुग्दै आशिंक निषेधाज्ञा जारी भएको थियो । सो संख्या ५ सय नाघे पश्चात पूर्ण निषेधाज्ञा लागु गरिएको थियो । पछिल्लो पटक जारी निषेधाज्ञाको अवधि जेठ १५ गते मध्यराती सम्म रहेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार कार्यालयमा प्राप्त विवरण अनुसार संक्रमण र निको हुने दर क्रमशः घट्दो क्रममा रहेको जनाएको छ ।

स्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार जिल्लाको सक्रिय संक्रमित संख्या २ हजार ९ सय ६९ रहेको छ । मृतकको संख्या ९३ छ । निको हुनेको संख्या १९ सय २९ पुगेको छ । प्रसाइले निषेधाज्ञा सँगै कोरोना फैलने दर घद्दै गएको बताएको छ ।