विश्वव्यापी महामारी कोरोना संक्रमणबाट उन्मुक्ती प्राप्त गर्न नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपूर्ण भूमिका रहने प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् । 

संक्रमणबाट समाज तीव्र गतिमा प्रभावित भइरहेको भन्दै सभामुख भण्डारीले संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दो रहेको उल्लेख गरेका छन् । २६४५ औं बुद्ध जन्म जयन्ती र उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख भण्डारीले वर्तमान विषम परिस्थितिलाई ध्यान दिंदै स्वास्थ्य सुरक्षाका सम्भव सबै उपायहरु अबलम्वन गर्न सुझाव दिएका छन् । सभामुख भण्डारीले भनेका छन्, ‘हामी जहाँ छौ त्यही बसेर पर्वहरु मनाउन आग्रह गर्दछु ।’

शुभकामना जारी गर्दै सभामुख भण्डारीले ‘प्रकृति पुजक भूमिपुत्र किराँत समुदायको महान पर्व उभौली तथा नेपालका राष्ट्रिय विभुति, बौद्धदर्शनका प्रवर्तक एवम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्म जयन्ती तथा २५६५ औं बुद्ध पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवंम् उत्तरोतर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ भनेका छन् ।

बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउँदै भौगोलिक, धार्मिक, साँस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ गर्न मद्दत पुग्ने सभामुख भण्डारीको विश्वास छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धदर्शनका स्थापित चार आर्य सत्यलाई अङ्गीकार गरेर सद्भाव, मेलमिलाप, सहअस्तित्व एवंम् अहिसांवादी सिद्धान्तको पालना गर्दै शान्ति र प्रगतिको पथमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस भन्ने शुभकामना सभामुख भण्डारीले व्यक्त गरेका छन् ।