विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
संघले आश्रमका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरेको हो । दोस्रो लहरको कोरोना फैलिएपछि गरिएको बन्दाबन्दीले आश्रममा खाद्य सामाग्रीको अभाव भएपछि संघले सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।
आश्रममा संघले १० वटा ग्याससहितको सिलिन्डर, खाद्य सामाग्रीका साथै माक्स र सेनिटाइजर वितरण गरेको छ । केही दिनअगाडि पनि संघले सुरक्षाकर्मी र पत्रकारहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।
संघकी अध्यक्ष लक्ष्मी तिम्सिना र अन्य पदाधिकारीहरूले संयुक्त रूपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएका छन् । पहिलो लहरमा संक्रमण फैलिँदा पनि संघले मोरङको उर्लाबारीस्थित बाल आश्रम, विराटनगरको पुष्पलालचौकस्थित वृद्धआश्रममा पुगेर स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेको थियो ।