संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपलिका वडा नं. ५ याफुका जंगली च्याउ खाएर विरामी परेकाहरुको उपचारमा आर्थिक समस्या भएको छ ।

परिवारका सबै विरामी भएको र आर्थिक स्थिती कमजोर भएकोले उपचारमा समस्या भएको हो  ।

च्याउ खाँदा विरामी परेका ९ जना मध्ये एकको ज्यान गई सकेको छ भने बाँकीको उपचार भईरहेको छ ।  उनीहरुको उपचारको लागि आर्थिक समस्या भएको छिमेकी डेविन मेवाहाङले बताए ।

परिवारको सबै विरामी भएको र आर्थिक समस्या परेकोले सहयोगको याचना गरिएको उनले बताए ।

उनीसहित स्थानीय आफन्तहरुले सहयोग संकलन सुरु गरिसकेका छन् । उपचारमा धेरै खर्च हुने भएकोले सबैलाई सहयोग गर्नको लागि अनुरोध गरिएको छ ।

गत शुक्रबार राति जंगलबाट ल्याएको च्याउ खाँदा माइत आएका आमा छोरीसहित ९ जना विरामी भएका छन् छन् ।

मामा घर आएको ८ बर्षिया रोजिना राईको उपचारको लागि धरान लाने क्रममा बाटोमा नै ज्यान गएको आफन्तले जनाएको छ । गत शुक्रबार रातिदेखि घरका बुवा बुद्ध बहादुर राई र आमा बुद्धि माया राईसहित परिवारका नौ जना विरामी परेका थिए ।

शुक्रबार साँझ जंगलबाट फर्किने क्रममा च्याउ टिपेर ल्याई खाएर सुतेपछि मध्यरातबाट परिवारका सबैलाई वान्त, झाडापखाला हुन थालेको स्थानीय प्रेम मेवाहाङले जानकारी दिए । 

याफु आधारभूत स्वास्थ्य सेवा इकाईबाट ९ जना मध्ये ८ जनालाई जिल्ला अस्पताल खाँदबारी प्रेषण गरिएको थियो ।

नौ जनाको परिवार मध्ये बुवा भने याफू आधारभूत स्वास्थ्य ईकाईमा नै उपचार भईरहेको र अन्यको जिल्ला अस्पताल खाँदबारीमा पनि उपचार हुन नसकेपछि धरान रेफर गरिएको अस्पतालले जनाएको छ ।