धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको बन्दाबन्दी भइरहे पनि धरान उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयले बन्दाबन्दीलाई थप कडाइ गर्ने निर्णय गरेको छ ।
बन्दाबन्दीको समयमा पनि प्राथमिकताबिनै हिँडडुल गर्नेहरुलाई नियन्त्रण गर्नका लागि भोलि (आइतबार) बाट जेठ १५ गतेसम्म पूर्णरुपमा सिल गर्न लागिएको वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । उनका अनुसार कोरोना पोजेटिभको संख्या बढ्दै गएकाले अतिआवश्यकबाहेक पूर्णरुपमा ठप्प गर्न लागिएको हो ।
धरान उपमहानगर स्वास्थ्य महाशाखाका अनुसार धरान १३ मा आजका दिनसम्म ४१ जना संक्रमित पुगिसकेका छन् । धरान १३ अनाम टोलका ८५ वर्षीय एकजना वृद्धको ज्यान गएको अवस्था छ । यस्तो परिस्थितिमा कोरोना संक्रमण भएकाहरु पनि गाउँघरतिर चेकजाँच नगरी हिँडिरहने र संक्रमण दर फैलाउँदै गएकाले बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको वडाध्यक्ष काफ्लेले जानकारी दिए ।
वडा कार्यालयले नगरका गौरबका आयोजनालाई काम गर्न छुट दिने भएको छ । त्यसमा पनि जिल्ला प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड लागू नगरेको अवस्थामा त्यस्ता आयोजनालाई पनि बन्द गरिने भएको छ । धरान १३ मा तीनवटा गौरवका आयोजना सञ्चालित छन् । एउटा पब्लिक मावि फुस्रेको भवन निर्माण भइरहेको छ भने सांसद् विकास कोषबाट उदयमार्गको सडक निर्माण र अमर आधारभूत विद्यालयमा राष्ट्रपति शिक्षा सुधार कार्यक्रमअन्तर्गत शुक्रबारबाट भवन निर्माण भइरहेको छ ।
यी तीनवटा आयोजनालाई सञ्चालन गर्न दिने भएको छ भने अन्य विकास निर्माण तथा अतिआवश्यकीय वस्तुको खरिदबिक्रीमा पनि एकदमै कडाइ गरिने भएको छ । धरानमा कोरोना संक्रमण सबैभन्दा पहिला धरान १३ मै ५१ वर्षीय महिलामा देखिएको थियो । त्यसपछि नै धरानमा कोरोना संक्रमण देखिन थालेको हो ।