कोरोना संक्रमणको महामारीका बेला वराहक्षेत्रमा मनपरी मूल्य असुल्ने व्यवसायीलाई जरिमाना गरिएको छ । 

दैनिक खाद्यान तथा उपभोग्य सामग्रीमा ग्राहकसँग मनपरी चर्को मूल्य असुल्ने ११ वटा किराना तथा औषधी पसललाई नगर अनुगमन टोलीले कारबाही गरी जरिमाना तिराएको छ ।

बिहीबार स्वयं ग्राहक बनेर गएको अनुगमनले टोलीले नपाको बाङ्गे बजार, नडाहा र कालाबन्जरका ७ किराना व्यापारी र ४ औषधि बिक्रेतालाई जनही ५ हजार रुपैंयाको दरले ५५ हजार जारिमाना असुल गरिएको वराहक्षेत्र नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनुकुमार सुब्बा लिम्बूले बताए । 

अनुगमनमा व्यापारीहरुले सामानमा अंकित मूल्य भन्दा दोब्बर–तेब्बर बढी दाम लिएको पाइएको छ । उनीहरुले एक लिटरको २ सय ६ रुपैंया पर्ने खाने तेललाई २ सय ८० रुपैंया लिएको पाइएको छ । दाल, चिनी, खैनी गुटखा, साबुनमा मनपरी मूल्य लिएको पाइएको अधिकृत लिम्बूले बताए । 

मनपरी मूल्य असुल्ने र ग्राहकलाई बिलविजकसमेत नदिने गरेको चेकजाँचका क्रममा पाइएको अधिकृत लिम्बूले बताए ।

‘कोरोना महामारीमा पनि मेडिकलवालाहरुले जनताको स्वास्थ्यसँग खेलवाड गरेका छन्, औषधि बिक्रेताले अतिआवश्यक मास्क तथा सेनिटाइजरको मनपरी मूल्य लिएर बिक्री गरेका छन् ।

ग्राहकसँग मनपरी मूल्य असुल गरेको गुनासो निरन्तर आएपछि वराहक्षेत्र नपाले गरेको अनुगमन टोलीमा इ्रप्रका चक्रघट्टी प्रहरी निरीक्षक पाडंव राजवंशी, उद्योग वाणिज्य संघ वराहक्षेत्रका प्रतिनिधि तुलसी श्रेष्ठ, नपाको खाद्य शाखा प्रमुख मातृका तिवारी, नडाहा प्रहरी चौकीका डम्बरबहादुर गौतम र पत्रकारलगायत सहभागी थिए । 

मनपरी मूल्य लिनेलाई ५० हजार देखि २ लाख रुपैंयासम्म जरिवाना लिन सकिने भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत लिम्बूले अन्य स्थानमा पनि बजार अनुगमन हुने बताए ।