जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ ।  

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार रहेका छन् ।

यसअघि गाउँपालिकामा सङ्क्रमित बिरामी बोक्नका लागि  एम्बुलेन्स मात्रै प्रयोग गरिएको थियो । महामारीले भयावह रूप लिँदै गएकोे भन्दै गाउँपालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई सङ्क्रमित बोक्नका लागि प्रयोग गर्ने निर्णय गरेको हो । 

 यस्तै पालिकाले प्रत्येक वडामा कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ ।

पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एक चिकित्सकसहित ११ स्वास्थ्यकर्मीलाई सम्पर्क व्यक्ति बनाइएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत धामीका अनुसार कोरोनाबाट कुनै व्यक्ति सङ्क्रमित भएमा आवश्यक परामर्श र सल्लाहका लागि सम्पर्क व्यक्ति तोकिएको हो ।  

यसैबीच गाउँपालिकाले अक्सिजन सिलिण्डरसहितको आइसोलेशन कक्ष स्थापना गर्ने तयारी थालेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार पालिकाको दुई स्थानमा गरी अक्सिजनसहितको १२ शय्याको आइसोलेशन कक्ष निर्माण शुरु गरिएको छ । 


वडा नं ३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा नं ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेशन कक्ष बनाउने तयारी भएको हो । कोरोना सङ्क्रमित भएर गम्भीर बिरामी भएमा स्थानीयस्तरमै उपचारको लागि तयारी भएको नाथको भनाइ छ ।