भण्टाबारी। सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीमा भू–माफिया सक्रिय भएका छन् । जनप्रतिनिधिहरु नै भू–माफियासँग मिलेको देखिएको छ । अर्काको नाममा रहेको जग्गा आफूखुसी किनबेच गराउन यहाँका भू–माफिया सक्रिय भएका हुन् । जग्गा विवादकै कारण कोशी गाउँपालिका वडानम्बर ८ का जनप्रतिनिधि विभाजितसमेत भएका छन् ।
उनीहरूले जग्गाको विषयमा एक–अर्कामाथि आरोप प्रत्यारोप लगाउँदै आएका छन् । साविक हरिपुर गाविस–८ हालको कोशी गाउँपालिका–८ भण्टाबारीमा उदयकुमार लालदासको नाममा रहेको ४ बिघा १० कठ्ठा जग्गामध्ये १ बिघा १५ कठ्ठा जग्गा अदालती प्रक्रियाबाट घनश्याम देवले ०७३ सालमा आफ्नो नाममा लिएका थिए ।
वडाध्यक्ष विन्देश्वरप्रसाद यादवले भने एउटै जग्गाको फरक– फरक मितिमा छुट्टाछुट्टै सिफारिस गरेको पाइएपछि जग्गा विवाद सतहमा देखिएको हो । वडाध्यक्ष यादवद्वारा हस्ताक्षर गरिएको मिति ०७५ साल मङ्सिर ६ गतेको सिफारिस पत्रमा कोशी गाउँपालिका–८ बस्ने घनश्यामप्रसाद देवको नाममा दर्ता भएको कित्ता नम्बर ९४१ को ४ कट्ठा ६ धुर र कित्ता नम्बर ९३ को १ बिघा ११ कठ्ठा जग्गामा घर नभएको भनी सिफारिस गरेको देखिन्छ । घनश्याम देवकै नाममा रहेको सोही जग्गाको मिति २०७७ साल चैत ३० गतेका दिन तीनथान फुसको घर भएको भनी सिफारिस गरेका थिए ।
वडाध्यक्ष विन्देश्वरप्रसाद यादवले भने भू–माफियाको गिरोहले गैरकानूनी तवरले सिफारिस दिन भन्दै आफूमाथि दबाव सिर्जना गरेको बताउने गरेका छन् । वडासदस्य शनिचर यादवलगायत अन्य वडा सदस्यहरूले सबै प्रमाण भएर समेत वडाध्यक्षले अनावश्यक दुःख दिने काम गरेको आरोप लगाएका छन् ।
बोली फेर्दै वडाध्यक्ष
०७५ साल मङ्सिर ६ गतेको सिफारिस पत्रमा घर नभएको कच्ची बाटो भएको भनी सिफारिस गरेका वडाध्यक्ष विन्देश्वरप्रसाद यादवले ०७७ साल चैत ३० गतेको अर्को सिफारिस पत्रमा तीनथान फुसको घर भएको भनी सिफारिस गरेका छन् ।
आफैले सिफारिस गर्दै घनश्यामप्रसाद देवको ८ कठ्ठा जग्गा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ५ बस्ने रविन्द्रकुमार यादवको नाममा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीबाट पास गराएको देखिन्छ ।
तीन वर्षअघि आफैले सिफारिस गर्दै मालपोत कार्यालय सुनसरीबाट आफन्तको नाममा पास गराएको जग्गाको लालपुर्जा नभएको, जग्गाधनी उदयकुमार लालदास भारतीय भएको आरोप वडाध्यक्ष विन्देश्वरप्रसाद यादवले लगाएका छन् । जग्गाधनी भनिएका उदयकुमार लालदासले भने आफू भारतीय नागरिक नभई ०३१ सालतिर सञ्चार मन्त्रालय हुलाक सेवा विभागमा जागिरे भएको प्रमाण देखाएका छन् ।
‘मसँग प्रमाण नभएको भए वडाध्यक्ष विन्देश्वर यादवले कसरी सिफारिस गरे ?’ जग्गाधनी घनश्याम देवले प्रश्न गर्दै भने, ‘हामीले सरकारले तोकेको कर तिरेर जग्गा किनबेच गर्न नहुने हो र ?’ वडासदस्य शनिचर यादवले कानूनबमोजिम काम गर्न आफूले वडाध्यक्षलाई सल्लाह दिँदै आएको भए पनि आफ्नो सल्लाह वडाध्यक्षले नमानी केही भू–माफियाको चलखेलमा लागेको आरोप लगाए ।
यसैबीच घनश्याम देवले जग्गाको विषयमा विवाद हुँदा वडाध्यक्ष विन्देश्वर यादवले आफूलाई सार्वजनिक रूपमा पटक–पटक गाली बेइज्जती गरेको भन्दै वडाध्यक्ष विन्देश्वरविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएका छन् । कोशी गाउँपालिका–८ का वडाध्यक्ष विन्देश्वर यादवमाथि अभद्र व्यवहार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यता वडाध्यक्ष विन्देश्वप्रसाद यादवले आफूले भूमिहीन र सुकुम्बासीको विषयमा आवाज उठाउँदा राजनीतिक पहुँचका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरिएको दाबी गरे । उनले आफू निर्दोष भएको दाबी गर्दै कानूनअनुसार नै आफूले भण्टाबारीका घनश्याम देवलाई सिफारिस उपलब्ध गराएको बताए । उनले भने, ‘०७५ साल मङ्सिर ६ गते कोशी गाउँपालिका वडानम्बर ८ बाट सिफारिस मैले गरे पनि जग्गाधनी घनश्याम देवले कसलाई जग्गा बेचेको हो सो बारेमा मलाई केही जानकारी छैन ।’
जबकि जग्गाधनी घनश्याम देवबाट ८ कठ्ठा जग्गा वडाध्यक्ष यादवले नै आफ्ना नातेदार भाइ पर्ने रविन्द्रकुमार यादवको नाममा पास गराएको स्रोतको दाबी छ । भण्टाबारीको ८ कठ्ठा जग्गा वडाध्यक्षले भण्टाबारीस्थित पूर्वी टोलका स्थानीयलाई ४० लाख रुपैयाँमा बिक्री गरेको दाबी गरिए पनि वडाध्यक्ष यादवले सो कुरा अस्वीकार गरेका छन् ।