वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ का विपन्न ६५ घरपरिवारलाई एलपीजी ग्यास सिलिण्डर र चुल्हो वितरण गरिएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पंक्षी बसाई सराई अध्ययन केन्द्र हिमाली प्रकृतिले मङ्गलबार ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको हो । वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगरले विपन्न परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण गरिन् ।

केन्द्रका कार्यक्रम अधिकृत लव केसीले वैकल्पिक ऊर्जा प्रयोग गर्न नसक्ने परिवारलाई उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै सामग्री दिइएको बताए ।

विपन्न परिवारका लागि आयआर्जन हुने खालको तालिमका कार्यक्रम ल्याइने उनले बताए । कार्यक्रममा वडाध्यक्ष हरिकृष्ण भट्टराई, सदस्यहरू लालबहादुर तामाङ, सुमित्रा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।