वराहक्षेत्र नगरपालिकाको चतरामा
'तपाइको मास्क खोइ ?' कार्यक्रम अन्तर्गत मास्क नलगाई हिड्ने ५०० जनालाई मास्क वितरण गरिएको छ ।
दुर्व्यसन विरुद्धको अभियान (फ्यान क्लब), वराहक्षेत्र नगरपालिका, आदर्श मावि चतरा, इलाका प्रहरी कार्यालय चक्रघट्टी, ओरेक सुनसरीको सकृयतामा मास्क वितरण गरिएको हो ।
टोल , पसल र सडकमा बिना मास्क हिड्नेहरुलाई मास्कको उपयोगिता र फाइदा बारे जानकारी दिदै मास्क नलगाउनेलाई मास्क वितरण गरिएको ओरेककी कार्यक्रम अधिकृत विमला घिमिरेले जानकारी दिइन् ।
'फाइट अगाइन्ट्स नार्कोटिक्स' भन्ने नाराका साथ दुर्व्यसनविरुद्धको अभियान सन्चालन गरिरहेको कार्यक्रम अधिकृत घिमिरेले जानकारी दिइन् ।
वराहक्षेत्रका ७ वटा विद्यालयमा 'फाइट अगाइन्ट्स नार्कोटिक्स' (फ्यान क्लब) गठन भइसकेको छ । फ्यान क्लबका विद्यार्थी, प्रहरी, नगरपालिका र ओरेकको सहकार्यमा फूड बैंक सन्चालन गर्ने योजना समेत रहेको आदर्श माविकी विद्यार्थी तथा फ्यान क्लबकी सदस्य तुलसा सुवेदीले बताइन् ।
'तपाईंको मास्क खोइ' कार्यक्रम अन्तर्गत भोलि बुधबार चक्रघट्टीस्थित मर्निङ स्टार स्कुलको सकृयतामा मास्क वितरणको कार्यक्रम गरिने छ ।