इटहरी। कोरोना भाइरस महामारीका बीचमै सुनसरीका विभिन्न क्षेत्रका हाटबजार निर्वाध रूपमा सञ्चालन भइरहेका छन् । 

इटहरी र तरहरा क्षेत्रका विभिन्न हाटबजारमा सयौंको सङ्ख्यामा भीडभाड हुने गरेको छ । कोरोना महामारीको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले २५ जनाभन्दा भीडभाड नगर्न आग्रह गरे पनि हाटबजारमा भने सयौंको सङ्ख्यामा भीडभाड हुने गरेको छ । 

सोमबार इटहरी–२० स्थित तरहरा बजार भीडभाड नै भयो । बजारमा तरकारी किन्न आउनेहरूको घुइँचो नै लागेको थियो । ठेलम्ठेल गर्दै तरकारी किन्नेहरू बजारभरि थिए ।

सर्वसाधारणले कोरोनालाई अझै पनि बेवास्ता गरिरहेको तरहराका स्थानीय व्यवसायी राज कार्की बताउँछन् । बजारमा सर्वसाधारणको भीडभाड अत्यधिक भए पनि प्रशासनले नदेखेको उनी बताउँछन् । 

तरहरा बजार व्यवस्थापन तथा वातावरण समिति अध्यक्ष तथा इटहरी–२० का कार्यवाहक वडाध्यक्ष रामबहादुर गिरीले हाटबजारका कारण कोरोनाको जोखिम बढेको बताए । बर्सेनि लाग्ने मेला भने तरहरामा बन्द गराएको उनले बताए ।

तर, हाटबजार भने लागेको गिरीको भनाइ छ । ‘हामीले अर्को हप्ताबाट बजार नलगाउने भनेका छौं’ –गिरीले भने । गाउँका सर्वसाधारणले तरकारी किन्न भने बजार नै आउनु पर्ने बाध्यता रहेको उनी बताउँछन् ।

इटहरी उपहानगरपालिकाभित्रका तरहरा, खनार, पचरुखी, इटहरीको बुधबारे बजार जिल्लाकै सबैभन्दा ठूला बजारहरू हुन् । कोरोना महामारी बढ्दै गए पनि यी बजारहरू भने रोकिएका छैनन् ।

हाटबजारमा किनमेल गर्न आउने अधिकांश ग्राहकले मास्कको प्रयोग गरेका छैनन् भने सामाजिक दूरीको ख्यालै छैन । बजारमा सामान बेच्ने व्यापारीले पनि मास्कको प्रयोग बिना मालसमान निर्वाधरूपले बिक्री वितरण गरिरहेको स्थानीय निर्माण व्यवसायी श्याम चौधरीको भनाइ छ । सरकारले मेला महोत्सव रोक्ने भने पनि सञ्चालन भइरहेको उनी बताउँछन् । 

पछिल्ला दिनमा नगरभित्र कोरोना सङ्क्रमित बढेको बढ्यै छन् भने लक्षणसहितका सङ्क्रमित भेटिन थालेका छन् । यो बेला सङ्क्रमणको जोखिम उच्च रहँदा रहँदै पनि हाटबजार नरोकिँदा समस्या बढ्दै गएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

हाटबजार रोक्ने तयारी गरिरहेको भन्दै रोक्ने निर्णय गरेर मात्र नहुने कार्यान्वयनमा सबैले ध्यान दिनु पर्ने उनको तर्क छ । ‘उद्योग वाणिज्य सङ्घ र प्रशासनले पनि यस विषयमा ध्यान दिनुपर्छ’ उनी भन्छिन्, ‘अटेरीपनका कारण हाटबजारमा भीडभाड भइरहेको छ ।’ उनले बजार खुलेआम सञ्चालन भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै मङ्गलबारसम्म बजार बन्द गर्ने निर्णय गरिने बताइन् ।