धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र मनोमानी ढङ्गले सेटिङमा सञ्चालनमा आइरहेका पसल, व्यवसाय र क्याण्टिनहरू वैधानिक प्रक्रियामा आएका छन् । 

प्रतिष्ठानले २१ वर्षपछि ठेक्का लगाएपछि धरानका स्थानीय युवाले व्यवसाय सञ्चालन गर्ने अवसर प्राप्त गरेका छन् । शनिबार धरानका युवा व्यवसायी दिनेश राईले ‘राईको इण्टरप्राइजेज क्विक मार्ट’ सञ्चालनमा ल्याएका छन् ।

प्रतिष्ठान हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलको उत्तरगेटअगाडि खाद्यान्न ‘ग्लोसरी’ का सामग्री उपलब्ध गराउने उद्देश्यले ‘क्विक मार्ट’ सञ्चालनमा ल्याएको सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्यसमेत रहेका व्यवसायी राईले बताए ।

‘यसअघि धरानमा बीपी प्रतिष्ठान छ भन्ने मात्र थियो, यहाँका युवा व्यवसायी व्यवसाय गर्ने हिसाबले प्रतिष्ठानभित्र प्रवेश गर्न पाएका थिएनन्’ व्यवसायी राईले भने, ‘अहिले २१ वर्षपछि धरानका व्यावसायिक युवाको प्रतिनिधित्व भएको छ ।’

शनिबार औपचारिक रूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको ‘क्विक मार्ट’ मा प्रारम्भिक लगानी ५० लाखभन्दा बढी भएको व्यवसायी राईले बताए । उनले प्रतिष्ठानभित्र बसोबास गर्ने उपभोक्तालाई सर्वसुलभ ढङ्गले उपभोग्य सामग्री बिक्री वितरण गर्ने उद्देश्य रहेको बताए । 

यसअघि आन्तरिक सेटिङमा ठेक्का प्रक्रिया हुने गरे पनि निरन्तर एउटै व्यवसायीले मनोमानी ढङ्गले पसल सञ्चालन गरिरहेको स्थानीयको गुनासो आउने गरेको थियो ।